यस्तो कसरी भयो ? भन्नुस त ?
सुन्नुभएन । तपाई कहाँ जानुभएको थियो ?
एक जना मान्छे हेर्न नसक्ने । यहाँ किन आएको ? के गरेर बसेको ? यस्तो हुन्छ ? तपाई यहाँ आउनुस् । पछि पछि लागे म । किन त्यस्तो भयो ? आफुले कियर गर्न नसकेको भन्दै एउटा पत्र लेख्नुस् र हस्ताक्षर गरेर मलाई दिनुस् । त्यसपछि मात्र अर्को प्रक्रिया अगाडी बढ्छ । कसरी यस्तो भयो ? धेरैबेरसम्म एउटै प्रश्न दोह्राएपछि र लेख्न अहएपछि मैले सुस्तरी भने, हवस् सर ।
मम्मी राम्ररी बोल्न सकीरहनुभएको थिएन । रुदै हुनुहुन्थ्यो । खोक्दै हुनुहुन्थ्यो । मेरो बोली निस्कनु त परै जाओस, मम्मीलाई देखेर आँखाभरी आशु थियो । डाक्टरले भनेको मान्नुपर्ने र काम, कुरा गर्नुपर्ने मम्मीतीर आँखा नपल्टाएर उभ्भीरहेको थिए, डा.को भनाई सुन्दै । यद्यपी मम्मीलाई देखेर कामीरहेको थिएँ म डरले । म भारतको नयाँ दिल्लीको अन्सारी नगरस्थित अल इन्डिया इन्च्यिुट अफ मेडिकल साइन्स (एम्स) अस्पतालको नाट कान घाटी विशेषज्ञ डा. राकेश कुमारको पछि लागे । मैले डाक्टरले दिएको एउटा ह्वाइट पेपरमा मम्मीमा भएको समस्या लेखे । डाक्टर नभएको बेला अस्पतालको सैंयामा एक्कासी बल्झीएको समस्या । अस्पतालका कर्मचारीलाई बोलाउदा बोलाउदै भएको घटना । त्यसमा उपचारको लागि आग्रह समेत गरे , हस्ताक्षर सहित । डाक्टरले पत्र हेरेर प्रशासनमा दिन पठाए र अपरेसनको तयारीमा लाग्न अह्राए।
मम्मीको घाटिको खाने नलिको अपरेसन गरेर सास फेर्न गाहे परेकाले धेरै दिन सास फेर्न घाटिमा सानो प्वाल बनाएर ( ट्याकोस्टोमी ) गरेको थियो । खानका लागि मम्मीको नाकबाट छिराएको प्लाष्टिक फुडपाइप खोक्दै गर्दा निस्किएको थियो । मम्मीको खाना तरल पदार्थ हुन्थ्यो, जुन नाकबाट खुवाइन्थ्यो । अब खाने समस्या समाधानका लागि पेटमा अपरेसन गरेर मेडिकल फुडपाइप लगाउनुपर्ने भएकाले डाक्टर रिसाएको प्रष्ट थियो । त्यो समस्या घोक्दै गर्दा आफै भएको हो । त्यसमा डाक्टरको, विरामीको, कुरुवाको कसैको गल्ती मैले देखिन । नोज पाइप राम्ररी नलगाएकाले खसेको आरोप आफूलाई लगाउछन् भन्ने डाक्टरको डर थियो । मैले लेखेको पत्रले डाक्टरको बाटो खुल्दै अपरेसनको पक्रिया अघि बढेको थाहा भयो । दुई दिनपछि अपरेसन भयो पेटमा, खाना पेटबाट खुवाउन सुरु भयो । ५० दिनसम्म बेड नम्बर डि फोर ३३ मा मम्मीलाई राखिएको थियो । घाटिमा भएको अपरेसन पश्चात डिस्चार्जको लाइनमा बसेका हामि ५२ दिनमा फेरी पेटमा अपरेसन गर्नु पर्यो । ६० दिनमा बल्ल अस्पतालबाट बिदा भइयो ।
यो घटनाभन्दा ६ महिना अघि मम्मीलाई सोहि अस्पतालमा लगिएको थियो । ओपिडिमा जचाउदै गर्दा एक रात मम्मीलाई गार्हो भयो । अस्पताल नजिकै एक होटलबाट मम्मीलाई बोकेर मैले इमर्जेन्सीमा लगे । २४ घण्टा बितेपछि इमर्जेन्सीबाट हटाउन लगाएर अर्को अस्पतालमा पठाउन तयारीमा अस्पताल लाग्दा म रोएँ,कराएँ । ओपिडिको डाक्टरलाई बोलाउदा पनि समस्या अल्झिनै रह्यो । नेपाली कंग्रेसका नेता डा. शेखर कोइरालाको पत्र उनका साथि त्यहि अस्पतालको एक विभाग प्रमुखलाई दिएपछि मम्मीलाई अस्पतालले भर्ना गर्यो । त्यसभन्दा अघि मेरा साथि महेश आचार्य, एम्समा अध्ययनरत नेपाली विद्यार्थीहरुले सक्दो कोशिस गरिरहेकै थिए । सबैको दबाब र राजनितिले बिरामी मेरी मम्मीलाई अस्पतालले प्रेमपुर्वक भर्ना गर्यो । भर्ना भएपछि नेपालको रिपोर्ट हेर्दै पूर्ण रुपमा सबै जाँच गर्यो । त्यहिखेर नै मम्मीको नाकमा खाने पाइप लगाएको थियो । घाटिको अपरेसनको तयारीमा मम्मीको सबै जाँच भयो । जाँचकै क्रममा अस्पतालको डि फोर वान वेडमा मम्मीको ४५ दिन बित्यो ।
मम्मीलाई लगेर म दोस्रो पल्ट भारत गएको थिएँ। म पहिलो पटक भारत एउटा तालिममा गएको थिएँ । मेरो घरबाट ३० किलोमिटर नजिक भारत भएपनि मलाई हिन्दि बोल्न आउँदैनथ्यो। डाक्टर राकेशले अंग्रेजीमा कुरा गरेपनि शुरुमै भाषमा समस्या देखाएपछि मम्मीको बेडमा हुने ३ जना स्टाफ नर्सलाई पालै पालो हिन्दी भाषा सिकाउन भने । मलाई लेडिज र जेन्स नर्सहरुले हिन्दी भाषा सिकाउने कोशिस गरे । धेर थोर केहि जान्ने भएँ म । म अहिलेपनि खुसि छु अर्को भाषा जानेकोमा । एक्लै भएको र दशै नजिकिएकाले काठमाडौंबाट भाइ किशोर र श्रीमती समितालाई दिल्ली बोलाएँ । हाम्रो दशै भारतको अस्पतालमा बित्यो । हाम्रो संस्कृतिमा धेरै भारत, भुटान र अन्य देशका व्यक्ति, डाक्टर छक्क परे । मम्मीले ओच्छ्यानबाटै हामिलाई टिका लगाइदिनुभयो । हामि यसैमा खुसि हुने बाध्यता भयो । बहिनी करुणा, ज्वाइ विष्णु र भान्जी विशाका नेपाल घरमै थिए, फोनमा कुरा हुन्थ्यो । जाँचकै क्रममा पौने २ महिना अस्पतालमा बिताएको, मम्मी निकै कमजोर हुनुभयो । तौल, घट्दै गयो । नाकबाट यत्ति खुवाएर पुगेन भन्दै अरु १५ दिनपछि मम्मीको डिस्चार्ज भयो । नाकको पाइपबाट प्रोटिन लगायत औषधी अरु खानेकुरा खादै मम्मी ४ महिना घर बस्न बाध्य हुनुभयो । हामि मम्मीलाई सक्दो कोशिसले खुवाउने, लगायत सेवा दिइरहेका थियौं । यसमा मेरी श्रीमती समिताले स्नातोकोत्तर पढ्दै मम्मीको सेवामा तैनाथ भइन् ।
मम्मी ४ महिना भारतको एम्स अस्पतालमा बिताउनु अघि २ महिना नेपालकै अस्पतालमा भर्ना हुन बाध्य हुनु भएको थियो । २०६९ असारको अन्तिम साता मम्मीलाई टिचिङ अस्पताल उपचार गर्न लग्दा डा. गोविन्द केसी पहिलो पटकको अनसनमा रहेकाले उपचारमा गाहे पर्यो । मम्मीलाई सबैको सल्लाहमा पाटन अस्पतला लगियो । कमजोरीले छातिमा मम्मीको समस्या आयो । डा. अर्जुन कार्कीले मम्मीको उपचार गर्दै गए । ५९ दिनमा डिस्चार्ज भएपनि मम्मीलाई ट्याकोस्टोमिको प्वाल पूर्ण रुपमा ठिक नभएपछि डाक्टरहरुको सल्लाहले भारतको एम्समा लगिएको हो । एम्समा रहदा विश्राम सदनमा प्रतिदिन १ सय भारतिय रुपैया“मा सिंगल रुम पाइने व्यवस्थाले मलाई ४ महिना बस्न सहज बनायो ।
मम्मीको अवस्था देखेर हामी कति रोयौं । कति । त्यसको कुनै हिसाब छैन । मेरी हजुरआमा (मम्मीको आमा) कति रुनुभयो त्यसको लेखाजोखा छैन । सानैदेखि मम्मीमा निर्भर भएका हामि आतंकित हुन्थ्यौं त्यो भन्नै सकिदैन । त्यसमा अस्पताल भर्ना गराउन जादा अनसनले सर्वसाधारणलाई पारेको असरको तुलना गर्न सकिदैन । विभिन्न माग राखेर डा. केसीले अनसनमा १ सय २ दिन बिताएका छन् । चिकित्सा क्षेत्रका विद्यार्थीको शुल्कदेखि टिकापुर जस्ता क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने डा. केसीको माग पुरा भए उपचारकै लागि मम्मी जस्तै अरुले अरुलाई टिकापुरबाट काठमाडौं ल्याउनुपर्ने थिएन । तर मागस“गैको आन्दोलनले अस्पतालमा पुग्ने सर्वसाधारणलाई पर्ने असरमा पनि मर्म बुझ्नुको विकल्प छैन । मेरो मम्मीको उपचार गर्न जानेदेखि गत मंसिरसम्म डा. केसी अनसनमा बस्न बाध्य भए । कोहि समर्थनमा हुन्छन्, कोहि विरोधमा उत्रन्छन् । त्यो समय र मान्छे अनुसार फरक फरक हुन्छ । यदि तिमि साच्चिकै चोर हौं भने जति सक्छौ विद्या चोर धन होइन, ..........यस्तै लक्ष्मिप्रसाद देवकोटाको भनाई ... ....पुरानो कोट लगाउ.. नयां पुस्तक किन ...... यसका लागि पनि धेरै सहयोग नै महत्वपूर्ण रैछ । मम्मीलाई त्यतिखेर ठिक भयो भारत लगेर । तैपनि निकै ठूलो पिडित भएको छु, यसको वर्णन गर्न सकिदैन र कसैले नि बुझ्दैन् । अब मैले कोट त नयॉ नै लाउनुपर्छ । पुस्तक अरुले प्रयोग गरेकै नयॉ शिषर्कका पुराना किन्न सक्ने बन्नुपर्छ । अस्पतालमा विभिन्न विरोधले सर्वसाधारणलाई अफ्टेरोमा पार्नु हुदैन । त्यसको लागि अन्य डा. केसीहरुको पनि उत्पति नहोस् । जसमा सरकार समयानुसार परिर्वतन गर्न सक्ने क्षमतावान हुनुपर्छ ।
मम्मी भारतमा उपचारपछि नेपाल फर्कनुभयो । ४ वर्षसम्म दिनहुँ औषधी प्रयोग गरेरै बाच्न सक्नुभयो । मम्मी, औषधी र अस्पताल एक अर्काका परिपुरकजस्तो लाग्छ मलाई । मम्मीलाई अस्पतालले बचायो औधषीले गर्दा । तर त्यो धेरै दिन रहेन । उपचारको ४ वर्षमा २०७२ साल माघ २६ गते बिहान समाचार सुन्दै मम्मीले भन्नुभयो “ आज मंगलबार राम्रो बार नेपाली कंग्रेसका सभापति सुशिल कोइराला मरेछन् । म पनि आजै मर्न पाए हुन्थ्यो । ” एकदिन अघि माघ २५ गते केहि अफ्ट्यारो भएको महसुस गरेपछि डा. अर्जुनलाई देखाउन मम्मीलाई ग्रयान्डी अस्पताल लग्यौं । डा.को चेकअपले मम्मीमा छातिको केहि समस्या देखिएन । केहि भए घाटिको डा. धर्मकान्त बास्कोटालाई देखाउनु भन्ने सल्लाहले फर्किएक हामि २६ गते विहान मम्मीले त्यसो भन्दा तर्सिने भए म । भाइले मम्मीको अनुहारमा केहि परिवर्तन देख्यो र डरायो । अस्पताल जाऔं भन्यो । मम्मीले केहि भएको छैन, हिजो गाको त हो, धेरै पैसा भयो के हो ? प्रत्येक दिन अस्पताल जाने ? परेको छैन जान । नडराउ भन्नुभयो, अस्पताल जान आनिकानि गर्नुभयो । मम्मीको माग अनुसार बहिनी, ज्वाई र भान्जीलाई बोलायौं । उनिहरु आएपछि सबैको अगाडी मर्न पाए हुन्थ्यो, हैं । छोरा, छोरी, बुहारी, ज्वाइ, नातिनी सबै छौं नि, मर्न पाए हुन्थ्यो है सबैको अगाडी भन्नुभयो मम्मीले । हामी सबै डरायौं, अरुले मम्मीको अनुहारमा केहि नदेखेपनि भाइले रातो अनुहार देखेपछि सबैको सल्लाहले जबरजस्ती मम्मीलाई अस्पताल लग्यौं । मम्मी नाई भन्दै कराउंदै हुनुहुन्थ्यो । टिचिङ अस्पतालको इमरजेन्सीमा मम्मीको उपचार शुरु भयो । अस्पतालको आइसियु प्याक छ भन्दै डाक्टर अन्त अपरेसन गर्न लैजा भनेपनि प्रधानमन्त्रीको अपरेसन गर्दा यहाँ कसरी गर्नुहुन्छ लौ गर्नुस् भन्दै हामि पनि डाक्टरसँग करायौं । कराउदा मिलाउने काम सबै डाक्टरले नै गरे । सबै जाँच हुदा हुदै घाटीको अपरेसनको तयारीमा डाक्टरहरु लागेका थिए । सबैभन्दा बढी मार मम्मीलाई परेको रहेछ । त्यसपछि मम्मीलाई कहँं पुर्याइयो । अस्पतालमा को को डा.आए ? क कसले के के गरे ? केहि थाहा भएन । अस्पतालनमा डाक्टरले बोलाउदै सामान र औषधी किन्न पठाउदा त्यतैतिर व्यस्त भयौं हामि । अस्पतालको एक डाक्टरले मलाई बोलाएर एकान्तमा चस्मा निकाल्दै भने .....सरी...सरी...सरी...। मैले बुझिन डाक्टर, उनले मेरो टाउकोमा हात राख्दै भने सरी त्यो दिदीलाई बचाउन सकेनौं । मैले केहि डाक्टरलाई सोध्न सकेन । सबैलाई बोलाए । म रोएँ, आज मंगलबार मंगलबार कै दिन अपरान्ह् पौने ३ बजे ५२ वर्षको उमेरमै मम्मीको स्वर्गारोहण भयो । यो संसारमा मम्मी हुनुहुन्न । हाम्रो मनमा हुनुहुन्छ । शुरुमा टिचिड.अस्पताल छिर्न नपाएकी मेरी मम्मीको अन्तिम श्वास भने त्यहि अस्पतालमै गयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस