अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पलले अमेरिका भित्र थप १०० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको जानकारी दिएका छन्। यो लगानी प्रतिबद्धता कार्यान्वयनमा आएपछि एप्पलको अमेरिका भित्रको कुल लगानी ६०० अर्ब डलर पुगेको छ।
यसअघि सन् २०२५ को सुरुमा एप्पलले अमेरिका भर २० हजार जनालाई रोजगारी दिने गरी ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। यो नयाँ प्रतिबद्धता एप्पलको आपूर्ति श्रृंखला विस्तार र अमेरिका भित्रको उन्नत उत्पादन संरचना सुदृढ गर्न केन्द्रित हुने बताइएको छ।
ओवल अफिसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “एप्पलजस्ता कम्पनीहरू अब घर फर्कँदैछन्। ” उनले एप्पलका सीईओ टिम कुकबाट २४ क्यारेट सुनको स्मारिका समेत प्राप्त गरे।
यद्यपि ट्रम्पले भनेजस्तो आइफोनको सम्पूर्ण उत्पादन अमेरिका भित्र गर्न एप्पल अहिले तयार देखिएको छैन। टिम कुकले भने, “सेमिकन्डक्टर, ग्लास र फेस आइडी मोड्युल जस्ता धेरै कम्पोनेन्टहरू पहिले नै अमेरिका भित्र निर्माण हुँदै आएका छन्, तर अन्तिम असेम्बली अझै केही समय विदेशमै हुनेछ।”
यस वर्ष मे महिनामा ट्रम्पले एप्पललाई विदेशमा बनेका उत्पादनमा २५% ट्यारिफ लगाउने चेतावनी दिएका थिए, जुन कदमले एप्पललाई थप दबाबमा ल्याएको थियो। ट्यारिफको असरस्वरूप जुन महिनाको त्रैमासिकमा एप्पललाई ८० करोड डलर घाटा भएको थियो।
तर यो लगानी घोषणा पछि एप्पल पुनः ट्रम्पसँगको सम्बन्ध सुधार गर्ने रणनीतिमा देखिएको विश्लेषकहरूको टिप्पणी छ। वडबश सेक्युरिटिजका विश्लेषक ड्यानियल आइभ्सले भने, “यो निर्णय ट्रम्पको नजरमा राम्रो देखिनका लागि एप्पलको एक चतुर रणनीति हो।”
राजनीतिक दबाबका बाबजुद विश्लेषकहरू भने अमेरिकामा आइफोन उत्पादन व्यवहारिक नहुनेमा एकमत देखिन्छन्। श्रम खर्चको उच्चता र विश्वव्यापी आपूर्ति श्रृंखलाको जटिलताको कारण अमेरिका भित्रै सम्पूर्ण उत्पादन सम्भव देखिन्न।
न्यान्सी टेङ्लर, एलफर टेङ्लर इन्भेस्टमेन्ट्सकी सीईओका अनुसार, “ट्रम्पको आग्रहमा सन्तुलन कायम गर्ने एप्पलको यो घोषणा एक चलाखीपूर्ण समाधान हो।”
एप्पलको यस लगानी योजनामा भाग लिने कम्पनीहरूमा कोर्निङ (ग्लास निर्माता), एप्लाइड मेटेरियल्स (सेमिकन्डक्टर उपकरण आपूर्तिकर्ता), टेक्सास इन्स्ट्रुमेन्ट्स, ग्लोबलफाउन्ड्रीज, र ब्रडकमजस्ता चिप निर्माता कम्पनीहरू रहेका छन्।
घोषणापछि एप्पलको सेयर मूल्य ५% ले बढेको छ भने कोर्निङको सेयर ४% र एप्लाइड मेटेरियल्सको सेयर झण्डै २% ले उकालो लागेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस