यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताएको छ। प्रहरी कार्यलयका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए ।
आगामी शनिबारदेखि टिकट बुकिङ खुला
आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ–तिहार र छठ पर्वमा काठमाडौं उपत्यका बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो ।
बैठकमा चाडपर्वलक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस