Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले आफू अनकुल सेयर बजारलाई चलाउन खोज्दा बजार प्रभावित

अर्थ संसार

विहीबार, १० असोज २०८१, १५ : ३२ मा प्रकाशित

लगानीकर्ताले आफू अनकुल सेयर बजारलाई चलाउन खोज्दा बजार प्रभावित

नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरूले आफू अनकूल चलाउन खोज्दा सेयर बजारमा निरन्तर गिरावट देखिएको छ ।नयाँ सत्ता समीकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३० हजार अंक माथि पुगेको थियो । यसरी केही समय उचाइ लिएको पुँजीबजार निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ ।

पुँजीबजारप्रति सकारात्मक भएको सरकार एवं अर्थमन्त्री र राष्ट्र बैंकले समेत पुँजीबजारमैत्री मौद्रिक नीति ल्याएपनि बजारमा देखिएको सुधार क्षणिक बन्न पुगेको छ ।

३ हजारमाथि पुगेको पुँजीबजार २५ सय अंकमा झरेसँगै अर्थमन्त्री आफैले पुँजीबजार सुधारको लागि नेप्से लगायतका निकायमा पुगेर निर्देशनसमेत दिँदै आएका छन् । तर, पनि बजारले सुधारको गति लिन सकेको छैन ।

अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुगेर गरेको अनुगमनसँगै बिहीवार उच्च अंकको सुधार देखिएको थियो । तर, पनि पुँजीबजारले गति लिन सकेको छैन । गत असार १६ गते २०३७.०९ बिन्दुबाट ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार अहिले निरन्तर ओरालो लागिरहेको छ ।

बजार लगातार न्यून बिन्दुतर्फ झर्नुको पछाडि नीतिगत र सरकारको कारणभन्दा पनि लगानीकर्ताको कारण देखिएको छ । बजार घटबढ हुनु पुँजीबजारको सुन्दर पक्ष हो तर हदभन्दा पनि दल जानु ठूला लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउनु खोजेको देखिन्छ ।

२ हजार अंकको सेयर बजार ३ हजार माथि पुग्नुलाई अधिकांश लगानीकर्ताले पुँजीबजार करेक्शनपछिको बाउन्सको रूपमा लिएका थिए । सरकारले नीतिगत सुधार र बजारलाई पारदर्शी रूपमा लैजानसके पुँजीबजार सुधारको बाटोमा जाने देखिन्छ ।

पछिल्लो समय पुँजीबजारमा देखिएको गिरावट लगानीकर्ताको अस्थिरताको कारण भएको लगानीकर्ताहरूले समेत स्वीकार गरेका छन् ।

पुँजीबजार लगानीकर्ताहरूले बजारलाई स्वतःस्फूर्तभन्दा पनि लगानीकर्ता अनकूल चलाउन खोज्दा बजारमा असर परेको कुरामा लगानीकर्ता समेत सहमत देखिएका छन् । पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला, पुराना र अनुभवी लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउँदा पुँजीबजार सुधार हुन नसकेको बताइन् ।

उनले बजारलाई स्वतन्त्र छोड्नुपर्ने भएपनि बजारलाई ठूला लगानीकर्ताले नियन्त्रणमा लिन खाजेको आरोप लगाइन् । अध्यक्ष पोखरलेले शेयर बजार सानो कुराले पनि दीर्घकालिन असर पर्ने गरेको भन्दै लगानीकर्ता अनुकूल चलाउने प्रयासले बजार माथि जान नसकेको बताइन् ।

उनले नेपालको पुँजीबजार आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इण्डिकेटरले चलाइरहेको दावी गरिन् । उनले पुँजीबजार सुधार हुन नसक्नु लगानीकर्ता नै दोषी रहेको बताइन् ।

उनले पछिल्लो समय सानादेखि ठूला लगानीकर्ता समेत सेयर बजारका लगानीकर्ताभन्दा पनि व्यापारी बन्न खोज्दा बजार समस्यामा पुगेको बताइन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पाेखरेलले बजार बढेको समयमा ब्रोकरलाई भुक्तानी नगरी ठूला लगानीकर्ताले नाफा कमाएको आरोप लगाइन् । उनले त्यही समयमा बजारमा गिरावट आउँदा ब्रोकरलाई व्यवस्थापनमा समस्या हुँदा बजारमा कारोबार रकम कम र अंक दुवैमा गिरावट आएको बताइन् ।

सरकारले पुँजीबजार सुधारको लागि अझै थप नीतिगत सुधार गर्न जरुरी रहेको उनकाे भनाइ छ ।

स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले पनि सेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताए । उनले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने, कति समय धैर्य गर्ने भन्ने दीर्घकालीन योजना बिना लगानी गर्दा बजारमा समस्या देखिएको बताए ।

पूर्वअध्यक्ष रेग्मीले लगानीकर्ताहरूले लगानी गर्ने बित्तिकै तत्काल रिटर्न खोज्न थालेकाले बजार दीर्घकालीन रूपमा सुधार हुन नसकेको उल्लेख गरिन् ।

उनले सेयर बजारमा गरेको लगानी बैंकमा पैसा राखेर आजको भोलि ब्याज आउने जस्तो सोच राख्न नहुने बताए ।

पूर्वअध्यक्ष रेग्मीले दुई ठूला राजनीतिक पार्टी मिलेर सरकार बन्दा बजारमा सुधार देखिएको भएपनि आश्वसनले मात्रै बजार सुधार नहुने बताए ।

उनले सरकारले थप नीतिगत र प्राविधिक सुधार गर्दै जाने हो भने नेपाली पुँजीबजारको भविष्य राम्रो रहेको जानकारी दिए ।

यता सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु रहेको बताए । उनले बजार करेक्शन हुनु राम्रो भएपनि अहिलेको स्थितिमा आउनु राम्रो नभएको जानकारी दिए ।

उनले पछिल्लो समय बजारमा सेयर बेच्ने लगानीकर्ताहरुले अफवाह फैल्याउने खालका कार्यले बजार तल झरेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले बजार अनुकूल लगानीकर्ता चल्नुपर्ने भए पनि बजारलाई लगानीकर्ताले आफू अनकूल चलाउन खोज्दा सेयर बजार प्रभावित भएको बताए । पुँजीबजारमा पछिल्लो बढाइमा एक चरणको करेक्शन साइकल पूरा भएको छ । करेक्शनले बजार बढ्ने आधार थप मजबुत बनाउँछ । तर बजार बाउन्स ब्याक भएको रूपमा लिनेभन्दा पनि लगानीकर्ताहरू विभिन्न अफवाह फैल्याउने र आफू अनकूल बजार बनाउन खोज्नु दुःखद् पक्ष हो । पुँजीबजारको सुधार ठूला लगानीकर्ताले साना लगानीकर्तालाई भ्रम फैल्याएर भन्दा पनि दीर्घकालिन लगानीका साथ बजार प्रवेश गराउन जरुरी रहेको छ । अहिले सानोतिनो नाफा भएपनि बुक गरेर चाडपर्वको खर्च निकालौं भन्ने मानसिकतामा लगानीकर्ताहरू देखिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको