अर्थ संसार, काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काबेली कोरिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिदा विद्युत् उत्पादनको तयारीमा रहेका तीन वटा आयोजना समस्या पर्ने भएका छन् ।
कुल ५७ मेगावाट क्षमताका तीन आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा रहेका छन् । तर प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा भने चासो नदेखाएको र निर्माण व्यावसायीलाई प्रभावकारी रुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका हुन् ।
झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुसम्म ९० किलोमिटर लमो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण सुरु भएको लाइनमध्ये पहिलो खण्ड गोदक–दमक सञ्चानमा रहेको छ ।
आर्थिक वर्ष २०६२÷६३ बाट सुरु भएको प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । जग्गाको मुआब्जा वितरण, वनको स्वीकृतिलगायत समस्याले प्रसारण लाइन निर्माण अवरुद्ध छ ।
सो कोरिडोर निर्माण नहुँदा २५ मेगावाट क्षमताको काबेली बी एक, माउन्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ । ती आयोजनाबाट कुल ५७ मेगावाट विद्युत् उत्पादन हुने छ ।
काबेली बी एकको लगानी रु चार अर्ब ३० करोड लगानी रहेको छ । तल्लो हेवाको लगानी रु चार अर्ब रहेको छ भने इवा खोलाको लगानी रु एक अर्ब ६० करोड रहेको छ ।
काबेली बी एक जलविद्युत् आयोजना हाल करिब ९८ प्रतिशत सम्पन्न भएको छ । सो आयोजनाका प्रमुख रमेशप्रसाद न्यौपानेले आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेपनि प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने स्थिती निम्तिएको गुनासो गर्नुभयो ।
प्राधिकरणले १३२ केभी क्षमताको काबेली कोरिडोर प्रसारण लाइन निर्माण गर्न नसक्दा आफूहरुलाई समस्या उत्पन्न भएको उहाँको भनाइ छ । आगामी दुई महिनादेखि तीन महिना भित्र सो कोरिडोरमा तीन वटा आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
तर काबेली कोरिडोर निर्माणको जिम्मा लिएको भारतको एस्टर एण्ड ज्यागुरले निर्माण कार्यलाई प्राथमिकता नराखेको निजी ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले प्राधिकरणले समेत ठेकेदारलाई प्रभावकारी रुपमा काममा लगाउन सकेको छैन ।
काबेली बी एक आयोजना अरुण काबेली पावर जलविद्युत् आयोजनाले निर्माण गरेको आयोजना हो । सो आयोजनाका प्रमुख रमेशप्रसाद पोखरेलले प्राधिकरणले काबेली कोरिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिदा आफूहरुलाई समस्या परेको बताउनुभयो ।
काबेली बी एक आयोजनाको हाल मेशिन जडानको काम अन्तिम चरणमा पुगेको छ । प्रमुख पोखरेलले पेनस्टक पाइप तथा मेशिन जडानको काम भइरहेको र आयोजना निर्माण सम्पन्न हुन लागेपनि प्रसारण लाइनको अभावमा समस्या उत्पन्न भएको बताउनुभयो ।
उता कुल २२ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनाको पनि निर्माण सम्पन्न हुन लागेको छ । सो आयोजना पनि आगामी चैत्रको अन्तिमसम्म निर्माण सम्पन्न हुने आयोजनाका प्रमुख गणेश सुब्बाले जानकारी दिनुभयो ।
स्थानीय थापाटारमा रहेको प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भएपनि प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । निजी ऊर्जा उद्यमीले प्राधिकरणले प्रसारण लाइन निर्माणमा सधै समस्या मात्रै देखाउने र समस्या समाधानमा चासो नदेखाएको गुनासो गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले प्राधिकरणले ध्यान नदिदा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजना समस्यामा परेको बताउनुभयो ।
निर्माण व्यवसायीलाई काम गराउन नसक्नुको कारण खोजी गर्न र निजी ऊर्जा उद्यमीले पनि थप सहजीकरण गरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने अध्यक्ष गुरगाईको भनाइ छ ।
निजी उद्यमीले पटक पटक प्राधिकरणलाई छिटो प्रसारण लाइन बनाइदिन आग्रह गरेको भएपनि सुनुवाई नभएको गुनासो गरेका छन् । तर प्राधिकरणले भने प्रसारण लाइन निर्माणको काम भइरहेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समस्या सहजीकरण गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले आवश्यक निर्देशन दिसक्नु भएको जानकारी दिनुभयो । प्राधिकरणले स्थानीय प्रशासनले काममा सहयोग नगरेको गुनासो गरेको छ ।
प्रसारण लाइनको ‘राइट अफ बे’मा पर्ने जग्गााको मुआब्जा वितरणमा स्थानीयले चित्त बुझाएका छ्रनन् । जसका कारण २२ वटा टावर निर्माणमा समस्या पैदा भएको छ ।
प्राधिकरणले पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग जग्गाको मुआब्जाको विषयमा देखिएको समस्या मसाधान गरिदिन आग्रह गरिसकेको छ । तर काम किन सुरु हुन नसकेको हो सो बारेमा प्राधिकरणले स्पष्ट जानकारी दिन सकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस