Like us!
Follow us!
Connect us!
Watch us!

सीजी मोटर्सले बिक्री गर्दै आएको नेटा ईभीको उत्पादन बन्द,नेपाली उपभोक्ता अन्योलमा

अर्थ संसार

सोमबार, ०३ मंसिर २०८१, १४ : २४ मा प्रकाशित

सीजी मोटर्सले बिक्री गर्दै आएको नेटा ईभीको उत्पादन बन्द,नेपाली उपभोक्ता अन्योलमा

चिनियाँ कार निर्माता नेटा भीको उत्पादन बन्द भएको छ । नेपालमा चौधरी समूह अन्तगर्तको सीजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको नेटा भीको उत्पादन बन्द भएको हो । मार्च अन्तिम सातातर्फ नै कम्पनीमा समस्या आएपनि उत्पादन पूर्णरुपमा बन्द भने नोभेम्बरमा गरिएको बताइएको छ ।

जबकी, मार्चमा नै गाडी उत्पादक नेटाको प्यारेन्ट्स कम्पनीमा समस्या आएपनि नेपालमा खुलमखुला व्यापार भइरहेको थियो । नियामकीय निकायले समेत यसमा ध्यान पुर्याएको थिएन । जसकारण, मार्चयता नेटा किन्नेहरुलाई गुमराहमा राखेर बिक्रीवितरण भएको पाइएको छ ।

समाचार संस्था कार न्यूज चाइनाकाअनुसार नेटा भीले उत्पादन बन्द गर्नुका साथै कर्मचारीको तलब नै कटौती गरेको छ । यो सन् २०१८ मा स्थापना भएको चिनियाँ विद्युतीय सवारी ब्राण्ड हो । जसले छोटो समयमा नै विश्वव्यापीरुपमा आफ्नो व्यापार विस्तार गरेको थियो ।

नेटा ब्राण्ड होजोन अटोले उत्पादन गर्ने सर्वसुलभ विद्युतीय सवारीको भविष्य नै समस्यामा परेको छ । सस्तो मूल्यमा विद्युतीय सवारी उत्पादन गर्ने होजोनको नीतिका कारण छोटो समयमा नै यो विश्वव्यापी कम्पनी बनेको थियो । यसले सन् २०२२ मा लि अटो, नियो र एक्सपेङलाई नै पछाडी छाडेको थियो ।

नेटालाई नेपालमा चौधरी समूहले बिक्रीवितरण गर्दै आइरहेको थियो । यो ब्राण्डको सवारी सयौं सर्वसाधारणले किनेका थिए । तर, चिनमा उत्पादन नै बन्द भएपछि खरिदकर्ताहरुलाई चाहिने ‘स्पेयर्स पाट्र्स’को उपलब्धतामा समेत समस्या आउन सक्छ ।

नेपालमा सीजी मोटर्सले नेटा भी ५०, नेटा एक्स मोडलका गाडीहरु ल्याएर बिक्री गर्ने गरेको छ भने नेटा एस गाडी कमिङ सून’ सेक्सनमा राखिएको छ। तर मूल कम्पनीले नै उत्पादन बन्द गरेपछि अब आउने भनिएको गाडी र आइरहेका मोडल पनि नेपालमा पनि बन्द हुने देखिएको छ।

यसबाहेक यी गाडीहरु खरिद गरेर प्रयोग गरिरहेकाहरुले कम्पनीबाट पाइने वारेन्टी तथा पार्टपूर्जा कहिलेसम्म पाइरहलान् भन्ने कुरा पनि अन्योल देखिन्छ। यसबारे सीजीका तर्फबाट आधिकारिक रुपमा कुनै पनि धारणा सार्वजनिक भएको छैन।

यसबाहेक सीजीले गत भदौमा नेपाल ल्याएको अर्को चिनियाँ ब्राण्ड डायुन पनि टाट पल्टिएको खबर आएको छ। उक्त कम्पनीले नियमित रुपमा सञ्चालनमा नै समस्या आएपछि हाल उक्त कम्पनी नै टाट पल्टिएको घोषणा गरेको बताइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको