Like us!
Follow us!
Connect us!
Watch us!

बाह्रबिसेमा ४०० केभीको सबस्टेसन निर्माण धमाधम, आगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, १२ : ५७ मा प्रकाशित

बाह्रबिसेमा ४०० केभीको सबस्टेसन निर्माण धमाधम, आगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ ।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरुका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो । सोही स्थानमा २२०-१३२ केभी र १३२-११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित ४०० केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मरहरु राख्ने सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।

नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि उपकरणहरुको जडान सुरु हुनेछ । सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे ।

खिम्ती, बाह्रबिसे र लप्सीफेदी ४०० केभी सबस्टेसन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माणाधीन छन् । तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाडौ प्रसारण लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताए ।

खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये ११७ वटा जग हालिएको छ । ११५ वटा टावर खडा गरिएको छ । ३६ किलोमिटर तार तानिएको छ । बाँकी १ वटा टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आगामी माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । त्यस्तै, बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये ११८वटाको जग हालिएको छ । ११७ वटा टावर खडा गरिएको छ । ४२ किलोमिटर तार तानिएको छ । बाँकी टावरको काम भइरहेको छ ।

खिम्ती–बाह्रबिसे–काठमाडौं हुँदै प्रवाह भएको विद्युत्लाई काठमाडौं उपत्यककामा छिराउन लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन अगाडि बढाइएको छ । स्थानीयको अवरोधका कारण निर्माण प्रभावित छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि लप्सीफेदीबाट विद्युत्लाई नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) भुमहीस्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको