उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
कार्यक्रममा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताए । सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरेको हो । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो।
एसिया र प्रशान्त क्षेत्रमा वित्तीय पूँजी लगायत धेरै सम्भावनाहरू रहेको बताउँदै यस क्षेत्रमा नीति, नियमहरू र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासहरूलाई सामूहिक रुपमा अघि बढाउनुपर्ने अर्थमन्त्री पौडेलले बताए ।
आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस