प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडाले अहिले सहकारीमा भएको बचत जोगाउनुपर्ने बेला भएकाले थप्नेबारे बहस गर्न आवश्यक नरहेको बताएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको सोमबार भएको साधारणसभामा बोल्दै डा. खतिवडाले भने, ‘अहिले सहकारीमा भएको बचत जोगाउने बेला हो, थप्ने होइन । जोगाउने बेलामा यति करोड जम्मा गर्न पाइँदैन भनेर कराउनुको अर्थ रहँदैन ।’
बचत र ऋणको कारोबार सहकारीमा धेरै हुँदा यसको सीमाको कुरा उठेको उनले स्पष्ट पारे । सहकारी संस्थाहरूप्रतिको विश्वास बढाउनुपर्ने र स्वनियमन पहिला बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
‘अहिले नै सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो कि भन्ने अर्थमा नबुझ्नुहोला । पछि गएर पुँजीका सीमाहरू पनि हट्दै जान्छन्, जब व्यवस्था बलियो हुन्छ’, उनले भने, ‘तर अहिले नै अध्यादेश संशोधन गर्ने कुरा नगरौं । जब सहकारी ऐनको संशोधनको कुरा आउँछ, त्यो बेला बचत संकलन प्राथमिक पुँजीको आधारबाट तय गर्ने, ऋणको पनि त्यसै गर्ने र आफ्नो बचतकर्तालाई फिर्ता दिनसक्ने क्षमताको आधारबाट व्यवस्था गर्न सकिन्छ । त्यस विषयमा थप छलफल गरेर अगाडि बढ्न सकिन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस