प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै स्टाटस लेखेपछि उदयपुरका नेता तथा कोशी प्रदेशसभाका पूर्वसांसद विमल कार्कीलाई नेकपा एमालेले कारबाही गरेको छ ।
एमाले कोशी प्रदेश कमिटीले कार्कीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।
पूर्वसांसद कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध सामाजिक सञ्जालमा लेख्दै आएका थिए । गएको पुस २७ र २८ गते बसेको प्रदेश कमिटी बैठकले कार्कीलाई निलम्बन गर्ने निर्णय गरेको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पुष्टि गरे ।
एमालेले कार्कीसँग गएको मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो । उनको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध आएका अभिव्यक्तिबारे जवाफ माग्दै तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो । कार्कीले समय थप गरेर स्पष्टीकरण बुझाए पनि त्यसलाई चित्तबुझ्दो नमानी कारबाही गरिएको छ ।
एमालेका सक्रिय नेता कार्कीले २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १- कबाट विजय हासिल गरेका थिए । प्रदेशसभाको पहिलो कार्यकालमा सक्रिय सांसदका रूपमा परिचित कार्की कार्यकालको अन्त्यतिर संसदीय दलको सचेतकसमेत बनेका थिए । एमाले उदयपुरको उपाध्यक्ष रहेका कार्की २०८० असोजमा भएको प्रदेश कमिटी निर्वाचनमा सदस्य पदमा पराजित भएपछि नेतृत्वप्रति असन्तुष्ट बन्दै आएका थिए ।
पछिल्लो समय व्यापारी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान र भवन निर्माणको प्रस्तावमा भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले जनाएको असहमतिको समर्थन गर्दै कार्कीले सामाजिक सञ्जालमा लेखेका थिए । सोही प्रकरणमा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस