इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि नयाँ शृंखलाबद्ध सैन्य आक्रमण सुरु गरेको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, सिरिक, चाबहार, बन्दर–ए देइर र असालुयेह जस्ता बन्दरगाह सहरहरूमा विष्फोट भएको रिपोर्ट गरेका छन् ।
इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले बन्दर अब्बास र सिरिक बन्दरगाह सहरमा तीन/तीनवटा विस्फोट भएको पुष्टि गरेको जनाएको छ । त्यसैगरी, चाबहार बन्दरगाह सहरमा दुईवटा विस्फोटको आवाज सुनिएको उल्लेख छ । प्रसारण संस्थाका अनुसार, बुशेहर प्रान्तको बन्दर–ए देइर सहरमा पाँचवटा विस्फोट भएका छन् भने सोही प्रान्तको असालुयेह सहरमा पनि चारवटा विस्फोटको आवाज सुनिएको छ ।
विस्फोटको कारण, क्षतिको विवरण वा सम्भावित मानवीय क्षतिबारे भने अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । सम्बन्धित निकायहरूले घटनाबारे थप विवरण संकलन गरिरहेका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै इरानले गलत निर्णय गरेको बताएका छन् । उनले अब उसले यसको मूल्य चुकाउँदै छ भनेर लेखेका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डले साइप्रसको झण्डाअंकित एउटा व्यापारिक जहाजमाथि आईआरजीसीले गरेको निर्मम आक्रमणको जवाफस्वरूप आफूहरूले यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले स्वीकृत मार्ग परिवर्तन गरी आफ्नो ट्रयाकिङ प्रणाली बन्द गरेको आरोप लगाउँदै एउटा जहाजमाथि आक्रमण गरिएको जनाएको थियो । चिनियाँ तथा इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, उक्त जहाजले निर्धारित समुद्री मार्ग उल्लंघन गरेपछि कारबाही गरिएको हो ।
सेन्टकमका अनुसार, मिसाइल आक्रमणका कारण जहाजको इन्जिन कोठामा ठूलो क्षति पुगेको छ । साथै, जहाजले आफ्नो यात्रा जारी राख्न नसक्ने अवस्थामा पुगेको छ । घटनामा चालक दलका एक सदस्य अझै बेपत्ता रहेको पनि जनाइएको छ । सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यापारिक जहाजहरूमाथिका अघिल्ला आक्रमणपछि इरानलाई समझदारी पत्रप्रति आफ्नो प्रतिबद्धता देखाउने अवसर दिइएको थियो, तर उसले फेरि त्यसलाई उल्लंघन गर्यो ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस