Like us!
Follow us!
Connect us!
Watch us!

बजेट र मौद्रिक नीतिले पनि सेयर बजारमा ल्याउन नसकेको उत्साह, बालेन सरकार बनेपछि मात्रै ३५० अंकले घट्यो नेप्से

अर्थ संसार

आइतबार, २८ असार २०८३, १६ : २२ मा प्रकाशित

बजेट र मौद्रिक नीतिले पनि सेयर बजारमा ल्याउन नसकेको उत्साह, बालेन सरकार बनेपछि मात्रै ३५० अंकले घट्यो नेप्से

नेपालको पुँजी बजार पछिल्लो समय निरन्तर ओरालो यातामा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्लो ६ महिना यताकै तल्लो विन्दुमा पुगेको हो । 

गत शुक्रबार सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक २६००.७८ विन्दुमा पुगेको छ । यो गत पुस महिना यताकै सबै भन्दा न्युन हो । गत पुस ९ गते २५८५.८७ बिन्दुमा बन्द भएको सेयर बजार अहिले फेरि सोही विन्दु नजिक पुगेको हो । गत पुसको ९ गते पछि सेयर बजारमा बढेर २९७० विन्दुसम्म पुगेको थियो । यो बीचमा सेयर बजार परिसूचक चैत ११ गतेको कारोबार समयमा २९६९.५० विन्दुसम्म पुगेको थियो । त्यो दिन सेयर बजार बन्द हुँदा परिसूचक २९३५.९४ विन्दुमा बन्द भएको थियो । 

पछिल्लो समय स्थिर सरकार त्यो पनि एकल बहुमतको सरकार बने पछि पुँजी बजार माथिल्लो विन्दुमा पुग्ने विश्वास आम लगानीकर्ताको थियो । तर, यो सरकार आएदेखि नै बजार लगातार रुपमा घटिरहेको छ । विज्ञ अर्थशास्त्रीहरु नै अर्थमन्त्री, विज्ञ नै नेपाल राष्ट्र बैंकको नेतृत्वमा रहँदा पनि बजारमा भने सकारात्मक असर देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा स्थिर र नयाँ सरकार बनेपछि सेयर बजार बढ्ने आशा गरिएको थियो । तर, परिणाम भने त्यसको ठ्याकै उल्टो देखिएको छ । गत फागुन २१ गते भएको निर्वाचन अगाडि रास्वपाले आफ्नो वाचा पत्रमासमेत सेयर बजारमैत्री नीतिहरूको घोषणा गरेको थियो । तर, सरकार बनेको भोली पल्टैदेखि सेयर बजार घट्न सुरु भयो । बालेन सरकारले शपथ ग्रहण गर्नुभन्दा अघिल्लो दिन अर्थात चैत १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९५०.१६ बिन्दुको उच्च स्थानमा अडिएको थियो । यो सरकार बने पछिको हालसम्मका लागि ३४९.३८ अंकले सेयर बजार घटेको छ । 

बजेट र मौद्रिक नीतिले समेत बढाएन उत्साह

नेप्सेमा भएको कारोबारको ट्रेण्डलाई हेर्ने हो भने बजेटपछि सेयर बजार बढ्ने गरेको विगत थियो । तर, यो पटक भने सेयर बजार घट्यो । लगानीकर्ताको माग बमोजिमै अर्थमन्त्री स्वर्णिम वाग्ले पनि आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा पुँजीगत लाभ करनै अन्तिम कर हुने व्यवस्था गरेका थिए । तर, पनि सेयर बजार भने बढ्न सेकेको छैन । बजेटमा वाग्लेले सेयर बजारको सुधारका लागि भन्दै १० वटा नीतिहरू लिएका थिए । जसमा एनआरएन भित्र्याउनेदेखि नेप्सेको पुनर्संरचनाको विषयसमेत परेको थियो । तर, बजारमा भने त्यसको खास असर भने देखिएन ।

अर्थमन्त्री वाग्लेले आगामी वर्षका लागि बजेट प्रश्तुत गर्नु अगाडी जेठ १३ गते नेप्से ५ अंकले बढेर २७८२ बिन्दुमा बन्द भएको थियो । आगामी आ.व.को लागि जेठ १५ गते बजेट प्रस्तुत भयो । त्यसपछि भएको कारोबारमा धेरैले सकारात्मक सर्किट लेभलमा नेप्से पुग्ने अनुमान गरेका थिए । तर बजारले भने उल्टो बाटो समात्यो । बजेट पछि पहिलो कारोबार दिन नै नेप्से २६.७२ अंकले घटेर २७५५ बिन्दुमा पुग्यो । 

बजेट आए यता मात्रै पनि नेप्से ८६ अंकले घटिसकेको छ । बजेट पछाडि पूरै सेयर बजारको ट्रेन्ड हेर्ने हो भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा हरेको देखिन्छ । कारोबारमा समेत त्यस्तो उत्साह देखिएको छैन । बजेट मौद्रिक नीतिहरु आए पनि व्यवसायीको धरपकड र अर्थतन्त्र संकुचनमा रहेका कारणले गर्दा बजार पनि संकुचनमा रहेको लगानीकर्ताहरुले बताउँदै आएका छन् । सेयर बजार बढ्नका लागि अर्थतन्त्र सबल हुनु पर्ने अर्थ विद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । अर्थतन्त्र चलायमान नहुँदासम्म यो पुँजी बजार बढ्ने नसक्ने उनको भनाइ छ । ‘बजेट वा मौद्रिक नीतिले मात्रै पुँजी बजार बढ्न सक्दैन, समग्र अर्थतन्त्रमा सुधार नहुँदासम्म बजारको गति यहि नै हो,’ उनले भने । अर्थतन्त्र ओरालो लागेको समयमा पुँजी बजार मात्रै बढ्ने अपेक्षा गर्नु नै गलत हुने उनको तर्क छ । 

नीति र पुँजी बजार विचको सम्बन्धनै उल्टो देखिएको नेपाल सेयरधनी संघका अध्यक्ष अनश्याम पाण्डेको भनाइ छ । अहिले पुँजी बजारका लागि आवश्यक सबै कुरा सकारात्मक भए पनि बजार बढ्न नसक्नु अच्चमका विषय भएको उनले बताए । केही मात्रामा व्यवसायीहरुको धरपकडले पनि बजारमा असर गरेको उनको भनाइ छ । 

बालेन सरकार पछि मात्रै ३५० अंकले घट्यो नेप्से 

रास्वपाका वरिष्ठ नेता बालेन साह प्रधानमन्त्री भए पछि मात्रै बजार करिब ३५० अंकले घटेको छ । बालेन प्रधानमन्त्री नियुक्त हुनु भन्दा अघिल्लो दिन चैत १२ गते सेयर बजार २९५०.१६ विन्दुमा रहेको थियो । उनी प्रधानमन्त्री बनेपछि गत शुक्रबारसम्म सेयर बजार ३४९.३८ अंकले घटेर २६००.७८ विन्दुमा पुगेको छ । 

सरकार बनेपछिका अधिकांश दिन सेयर बजार घटेर कारोबार भएको छ । परिसूचक मात्रै होइन यो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । गत चैत १२ गते १२ अर्ब ९० करोड माथिको कारोबार भएको बजारमा शुक्रबार ६ अर्ब ८६ करोडको कारोबार भएको छ । यो पछिल्ला केही दिनको उच्च कारोबार हो । असार २५ गते सेयर बजारमा ३ अर्ब ६१ करोड माथिको मात्रै कारोबार थियो । यो अवधिमा सेयर बजारको कारोबारमा ६ अर्ब बढीको गिरावट देखिएको छ । 

 मौद्रिक नीति पछि पनि आएन उत्साह 

बजेट पछि घटेको बजार मौद्रिक नीति पछि बढ्ने धेरैको अपेक्षा थियो । तर, बजारमा भने त्यो पनि भएन् । मौद्रिक नीति आए पछि पनि बजार लगातार रुपमा घटिनै रहेको छ । मौद्रिक नीतिले यो पटक एकीन रुपमा भन्दा पनि यस्तो गरिने छ र यस्तो व्यवस्था ल्याउने छौँ भन्ने कुरा बढी आएकाले पनि बजारमा त्यसको असर नदेखिएको लगानीकर्ताको भनाई छ । अहिलेको मौद्रिक नीतिमा छोटो आएको र सर्कुलर वा निर्देशनहरु आए पछि मात्रै के व्यवस्था आयो भन्ने जानकारी पाइने भएकाले बजारमा असर नदेखिएको लगानीकर्ता जगन्नाथ ढुंगेलको भनाइ छ । 

मौद्रिक नीतिमा धेरै अपेक्षा नै नरहेको सेयर धनी संघका अध्यक्ष पाण्डेको भनाइ छ । अहिले नै बजारका लागि आवश्यक सबै कुरा खुकुलो रहेको उनले बताए । मौद्रिक नीतिले अर्थतन्त्रलाई नै सकारात्मक गर्ने भनिएकाले अर्थतन्त्र सकारात्मक हुँदा सेयर बजारमा पनि प्रभाव पर्ने उनको भनाइ छ । 
सेयर बजार परिसूचक मौद्रिक नीति आउनु भन्दा अघिल्लो दिन बढेको थियो । तर, त्यस पछिका दिनमा भने बजारले लय समात्न विर्सिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको