प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले निर्वाचनमा आफै प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिस नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन् ।
पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस ढएमएमसी–आईओएम) ईकाई सम्मेलनमा बोल्दै पुनले यस्तो टिप्पणी गरेका हुन ।
उनले समावेशीता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकाले त्यसलाई सच्याइनु पर्ने बताए ।
पुनले भनेका छन् , ‘समावेशीता चुनाव लड्न नसक्नेका लागि हो । प्रतिस्पर्धाका लागि योग्य बनाउन पछि परको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्देश्य हो,'लुप होल’ बाट प्रतिस्पर्धा गर्न नसक्नेहरूका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरू तीन पटकसम्म सांसद-मन्त्री भइरहेका छन् । अब यसलाई रोक्नु पर्छ ।’
उनले सरकारी सेवामा विकट गाउँका गरिब, बाहुन, मधेसी,जनजाति र कर्णाली जस्ता पिछडिएको क्षेत्रका लागि छुट्याइएको आरक्षण काठमाडौंसहित सहरका निजी स्कुल र क्याम्पसमा पढ्नेहरूले लिन नहुने बताए। पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गरे । ‘म मन्त्री भएको छु । मेरो छोराछोरीले काठमाडौंमा पढेका हुन् । उनीहरुले जनजाति कोटामा सरकारी सेवामा जाने होइन, प्रतिस्पर्धा गर्नुपर्छ’, पुनले भने, ‘गाउँका गरिब बाहुन क्षेत्रीको छोराछोरी, पछि परेका मधेसी र जनजातिका छोराछोरी र वा कर्णालीको कोटामा आर्थिक र राजनीतिक पहुँचमा भएकाहरुका छोराछोरीले प्रतिस्पर्धा गर्न नसक्नेका लागि छुटेयाइएको कोटाबाट अवसर लिन मिल्दैन ।’
चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्ने पुनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस