प्रधानमन्त्री केपी शर्मा ओली भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली विद्यार्थीको मृत्युबारे सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन् ।
एक जना नेपाली विद्यार्थी भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा मृत फेला परेकी थिइन् । भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृतक विद्यार्थी विश्वविद्यालयको बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल रहेको खुलेको छ ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस