Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा राजेन्द्र लिङ्देनको प्रश्न - पाथीभरामा केबलकार बनाउन दिएर किन भाइभाइ लडाइराखेको ?

अर्थ संसार

आइतबार, ११ फागुन २०८१, १३ : ०३ मा प्रकाशित

संसदमा राजेन्द्र लिङ्देनको प्रश्न - पाथीभरामा केबलकार बनाउन दिएर किन भाइभाइ लडाइराखेको ?

राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारलाई व्यवसायीको पक्षपाती भएको आरोप लगाउँदै पूर्वी नेपालको पाथिभरा क्षेत्रमा जारी विवादप्रति गम्भीर प्रश्न उठाएका छन्।

उनले आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सरकारले जनताको आवाजलाई उपेक्षा गर्दै जबरजस्ती व्यवसायीलाई फाइदा पुग्ने निर्णय गरिरहेको  बताएका हुन् । 

अध्यक्ष लिङ्देनले सरकारकै कारण अहिले पाथीभरा मुकुम्लुङ क्षेत्र अशान्त भइरहेको बताए । 

उनले प्रश्न गरे, 'आज पाथीभरा मुकुम्लुङ क्षेत्र अशान्त भइरहेको छ । एक प्रकारले त्यो रणमैदानमा परिणत भइरहेको छ । प्रधानमन्त्री, गृहमन्त्रीले त्यो भिडियो हेर्नु भएको छ कि छैन ? त्यो समाचार सुन्नु भएको छ कि छैन ? राजनीतिक दलहरूले यस विषयलाई अनदेखा गरिरहेका छन् । मानव अधिकार र नागरिक समाज किन अनदेखा गरेर बसिराखेको छ ? आज भाइभाइ लडाउने काम किन भइराखेको छ ?,'  साथै, उनले सरकार किन मन्त्रीस्तरीय वार्ता गर्नबाट पछि हटिरहेको छ भन्नेबारे पनि आशंका व्यक्त गरे।

उनले पाथिभरा केवलकार परियोजना व्यवसायीलाई सुम्पन सरकार लागिपरेको आरोप लगाए।

‘जनताले चाहेको छैन भने किन यो परियोजना अघि बढाउने प्रयास भइरहेको छ?’ उनले प्रश्न गरे। पाथिभराको विकास भन्दै गरिएको केवलकार निर्माणको विरोधमा स्थानीय जनता उत्रिएको र राज्यशक्ति प्रयोग गरी उनीहरूलाई दबाउने प्रयास भइरहेको उनले बताए।

लिङ्देनले सत्ता पक्षका नेताहरूसँग अपिल गर्दै पाथिभरामा भइरहेको केवलकार निर्माण स्थगित गर्न आग्रह गरे। ‘जनताको चाहना विपरीत कुनै पनि विकासको नाममा बलजफ्ती गरिनु हुँदैन’उनले भने। सरकारको प्राथमिकता व्यवसायीको स्वार्थ पूर्ति गर्नु नभई जनताको भावना बुझ्नु हुनुपर्ने उनको धारणा थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको