नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार कुलमान घिसिङलाई हटाएर प्राधिकरणको नेतृत्व सम्हाल्न आएका शाक्यले पदभार ग्रहण गर्दै न्याय पाएको अनुभूति व्यक्त गरे।
प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत शाक्यले पदभार ग्रहण गरेका हुन्। उनलाई कार्यालय प्रवेश गर्दा कर्मचारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहणपछि उनले यसअघि अघि सारेका योजनालाई निरन्तरता दिने तथा संस्थाभित्रका चुनौतीहरू समाधान गर्न सहकार्यको आवश्यकताको उल्लेख गरे।
विद्युत् आपूर्तिसम्बन्धी उठिरहेका चासोहरूबारे प्रतिक्रिया दिँदै शाक्यले लोडसेडिङको हल्ला निराधार मात्र भएको प्रस्ट पारे। उनले भने, "जनताको घरमा अब लोडसेडिङ हुने छैन। हामी ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौं।"
उनले प्राधिकरणको सुधारका लागि दुई हप्ताभित्र सकारात्मक परिवर्तन देखिनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, डेडिकेटेड लाइन र ट्रंकलाइन बक्यौताका विषयमा प्रक्रियागत रूपमा समाधान खोज्ने बताए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस