Like us!
Follow us!
Connect us!
Watch us!

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

सोमबार, ०१ माघ २०७४, १८ : ३८ मा प्रकाशित

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताउनुभएको छ ।

माघे संक्रान्तिको उपलक्ष्यमा थारु कल्याणकारिणी सेवा समितिद्वारा टुडिखेलमा आज आयोजित माघी महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै राज्य संयन्त्रमा सबैको पहँुचलाई सुनिश्चित गरेको छ, यो हामीले प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो ।”

प्रधानमन्त्री देउवाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउँदै विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो भन्नुभयो ।

नेपालका प्रत्येक जाति, जनजाती र धर्मावलम्बीको आ–आफ्नो मौलिक एवं सांस्कृति महत्व बोकेको चाडपर्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विविधता समस्या नभई संस्कृति हो ।”

प्रधानमन्त्री देउवाले हाम्रा चाडपर्वले नयाँ उमंग र उत्साह प्रदान गर्नुका साथै नेपालीबीच एकता र भाइचारा प्रगाढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै “नेपालीबीचको सुसम्बन्ध र आत्मीय बनाउन माघी पर्वले खेलेको भूमिका महत्वपूर्ण रही आएको छ,” भन्नुभयो ।

ऐतिहासिक, सामाजिक र सांस्कृतिक पहिचान रहेको थारु समुदायबाट मुलुकमा परिवर्तन र उपलब्धिमा महत्वपूर्ण सकारात्मक योगदान हँुदै आएको बताउँदै उहाँले जनजातिका रुपमा रहेका थारु समुदाय आर्थिक र सामाजिकरुपमा भने पछि परेको हँुदा थारु आयोगले यो विषयमा विशेष ध्यान पु¥याएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले थारु समुदायले अधिकार र संस्कृति संरक्षणका लागि आन्दोलनलाई अघि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नेपाली काँग्रेसका युवा नेता एनपी साउदले भाषा, वेषभूषा र संस्कृतिका हिसाबले धनी थारु समुदायको संस्थागत विकासका लागि अझै ठोस प्रयासको खाँचो औल्याउनुभयो ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संघीयता र समृद्धिलाई सँगसँगै लान सकिएमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व र विकासको ढोका खुल्ने धारणा व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले थारु समुदायको वेषभूषा र संस्कृतिसँग जोडिएको माघी महोत्सव थारु समुदायले विसं २०५९ देखि काठमाडौँमा गर्दै आएको छ भन्नुभयो ।

नेकपा ९माओवादी केन्द्र०का युवा नेता अमनलाल मोदीले थारु समुदायबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिलाउन र शपथ दिलाउने प्रबन्ध मिलाउन सरकार र निर्वाचन आयोगसँग आग्रह गर्नुभयो ।

नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष गोविन्द छन्त्यालले समाजको विविधतालाई सरकारले अझै आत्मसात् गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले आदिवासी जनजाती र भूमिपुत्रका रुपमा रहेको थारु समुदाय वेषभूषा, भाषा र संस्कृतिका हिसाबले निकै धनी रहेको बताउनुभयो ।

महोत्सव उद्घाटन समारोहमा थारु समुदायको वेषभूषा र संस्कृति झल्कने नाच र गीत संगीत प्रस्तुत गरिएको थियो । महोत्सवमा थारु समुदायका खानाको परिकारका २०० भन्दाबढी कक्ष रहेका थिए ।

थारु समुदायले माघीलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । विगतको कामको समीक्षा र नयाँ कामको शुरुआती आजकै दिनदेखि हुने थारु समुदायका अगुवाहरु बताउनुहुन्छ ।

थारु समुदायको जनसंख्या मुलुकमा २० लाखभन्दा बढी छ । पूर्वी तराईको तुलनामा यो समुदायको जनघनत्व पश्चिम तराईमा बढी छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको