राजा फर्काउने अभियानमा सक्रिय रहेका तथा विवादास्पद व्यक्तित्व दुर्गा प्रसाईंले आफूमाथि फरार भएको आरोपको खण्डन गरेका छन्। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएपछि उनी केही समयदेखि सार्वजनिक रूपमा देखिएका थिएनन्।
बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रसाईंले आफू कतै भागेर नगएको दाबी गरेका छन्। उनले आफ्नो ज्यानको खतिका कारण लुक्न बाध्य भएको स्पष्ट पार्दै, “पेरूमा साइनिङपथ आन्दोलनका अगुवा गोञ्जालोजको जस्तै मलाई पनि मार्ने योजना थियो,” भन्दै आफूलाई पनि त्यस्तै अवस्था बनाउन खोजिएको आरोप लगाए।
उनले थपे, “अब दुर्गा प्रसाईं रोकिँदैन, म घरघरमा पुगिसकेको छु। म भागेको होइन, मेरो ज्यान तलमाथि हुने भएकाले मात्र लुकेको हुँ। म नयाँ जोशका साथ फेरि आउँछु।”
प्रसाईंले आफू २४ घण्टाभित्रै सार्वजनिक हुन तयार रहेको बताउँदै, मानवअधिकारवादी, अधिवक्ता टंक दुलाल र स्वागत नेपालको रोहबरमा बाहिर निस्कने बताएका छन्। “यदि मेरो ज्यानको ग्यारेन्टी हुन्छ भने म २४ घण्टामा सार्वजनिक हुन्छु,” उनले भिडियो सन्देशमा भने।
चैत १५ को घटनापछि प्रसाईंविरुद्ध प्रहरी अनुसन्धान भइरहेको छ भने सरकारका तर्फबाट दोषीहरूलाई कानूनी कारवाहीको तयारी भइरहेकाे छ। यस्तो परिस्थितिमा प्रसाईंको भिडियो सन्देशले पुनः आन्दोलन र उनको भूमिकाप्रति चर्चा चुलिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस