Like us!
Follow us!
Connect us!
Watch us!

बिरा ९१ मा बढ्दो असन्तुष्टि : कर्मचारीहरुको बक्यौता, तलब र सरुवा विवाद

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, ०७ : ४७ मा प्रकाशित

बिरा ९१ मा बढ्दो असन्तुष्टि : कर्मचारीहरुको बक्यौता, तलब र सरुवा विवाद

भारतको चर्चित क्राफ्ट बियर निर्माता कम्पनी बिरा ९१ (Bira 91) मा हाल कार्यरत तथा पूर्व कर्मचारीबीच असन्तुष्टि चुलिएको छ। उनीहरूले बक्यौता तलब, नपाएका भत्ता र भुक्तानीका विषयमा गुनासो जनाएका छन्।

पुनःसंरचना नाममा सरुवा र राजीनामा

कम्पनीले केही महिनाअघि पुनःसंरचना प्रक्रिया थालेको भए पनि यसलाई अधिकृत रूपमा 'छुट्टी' (layoff) को रूपमा घोषणा गरिएको थिएन। कर्मचारीहरूका अनुसार, २०२४ नोभेम्बरदेखि नै तलब ढिला हुन थालेको हो भने यात्रासम्बन्धी र दैनिक खर्च भत्ताको भुक्तानी समेत रोकिएको थियो।

२०२५ जनवरीमा धेरैजसो कर्मचारीहरूलाई अन्य शहरमा सरुवा गरियो वा विभाग परिवर्तन गरियो। एक पूर्व कर्मचारीका अनुसार, “म मार्केटिङमा थिएँ, तर मलाई बिक्री विभागमा अर्को राज्यमा जान भनियो। ७० प्रतिशत कर्मचारीसँग यस्तो भयो। जसले अस्वीकार गरे, तिनलाई राजीनामा दिन भनियो।”

दोहोरिंदो बक्यौता र ढिलाइ

एक पूर्व सेल्स कर्मचारीले बताएअनुसार, “मैले डिसेम्बरमा राजीनामा दिएँ र दुई महिना नोेटिसमा बस्न भनिएको थियो। तर जनवरीमा एक्कासी एक महिना छोट्याइयो। तलब र बक्यौता दिने भने पनि अहिले ९० दिन बितिसकेको छ। हालैको जानकारी अनुसार, अब मे ३१ भित्र दिने बताइएको छ।”

कम्पनीको वित्तीय अवस्था कमजोर

कम्पनीभित्रै कार्यरत कर्मचारीहरूले विगत वर्षदेखि नै आर्थिक स्थिति कमजोर हुँदै गएको बताएका छन्। एक पूर्व मार्केटिङ कार्यकारीका अनुसार, “२०२३ मा बिराले उच्च बिक्री लक्ष्य राखेको थियो, तर प्राप्ति मात्र ४० प्रतिशत भयो। त्यही आधारमा भर्ति र खर्च बढाइएको थियो, जसले बोझ बढायो।”

ठूला लगानी, तर बजारमा अभाव

कम्पनीले पछिल्लो पाँच वर्षमा ICC स्पोन्सरशिपमा मात्रै २००–२५० करोड रुपैयाँ खर्च गरेको अनुमान गरिएको छ। यसबाहेक, आईपीएल टिमसँगको साझेदारी, ATL र BTL मार्केटिङबाट माग त तयार गरियो तर स्टक बजारमा थिएन।

विक्रेता (vendors) हरूलाई भुक्तानी नभएको, कच्चा पदार्थ नपुगेको, र ब्रुअरीहरू सञ्चालन हुन छाडेको कर्मचारीहरूले बताए। लेबेलिङ समस्याका नाममा ८० करोड रुपैयाँ घाटा देखाइएको दाबी समेत गरिएको छ।

कानुनी नाम परिवर्तनले थप समस्या

कम्पनीले २०२३ मा आफ्नो कानुनी नाम परिवर्तन गरेपछि विभिन्न राज्यमा उत्पादन पुनःलेबेलिङ गर्नुपर्ने भयो। यसले आपूर्ति सञ्जालमा थप अवरोध ल्यायो र सिजनल बिक्री पनि प्रभावित भयो।

विशेषज्ञको टिप्पणी

ब्रुअर्स एसोसिएसन अफ इन्डियाका महानिर्देशक विनोद गिरि का अनुसार, “नयाँ ब्राण्डहरूले अत्यधिक विस्तार गर्दा जोखिम हुन्छ। गलत राज्यमा विस्तार वा अनावश्यक उत्पादन क्षमताले अस्थिरता ल्याउँछ।”

अल्कोबेव मार्केट विशेषज्ञ सञ्जय जैन ले भने, “बियर बजार मात्रा (volume) मा खेलिन्छ। बिरा ९१ ले आफ्नो विशेष पहिचान छिटो छोडेर तीव्र विस्तारमा लाग्यो। भेञ्चर क्यापिटलले बियरको युनिट इकोनोमिक्सलाई FMCG सरह हेर्ने गल्ती गर्‍यो।”

लगानी र घाटा

२०१५ मा स्थापना भएको बिरा ९१ ले Sofina, Kirin Holdings, MUFG Bank,Peak XV Partners जस्ता लगानीकर्ताबाट हालसम्म ४५७ मिलियन डलर बराबरको लगानी उठाइसकेको छ। कम्पनीले गएको वर्ष मात्रै २५ मिलियन डलर लगानी लिएको थियो।

तर, २०२३–२४ आर्थिक वर्षमा कम्पनीको आम्दानी २२ प्रतिशतले घटेर ६३८ करोड रुपैयाँमा सीमित रह्यो भने नेट घाटा ७४८ करोड रुपैयाँ पुग्यो। उक्त घाटा मुख्यतः लेबेलिङका कारण भएको इन्वेन्टरी राइट–अफको कारण भएको बताइएको छ।


यो समाचार एजेन्सीको सहयोगमा तयार पारिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको