विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले वर्षको अन्त्यसम्ममा बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (CEO) पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले यो घोषणा शनिबार कम्पनीको वार्षिक सेयरधनी सभामा गरेका हुन्।
९४ वर्षीय बफेटले उपाध्यक्ष ग्रेगोरी एबेललाई आफ्नो उत्तराधिकारी बनाउने प्रस्ताव कम्पनीको बोर्डसमक्ष राख्ने बताएका छन्। एबेललाई सन् २०२१ मै उत्तराधिकारी बनाउने योजना सार्वजनिक गरिएको भए पनि शनिबार औपचारिक रूपमा यसबारे घोषणा गरिएको हो।
हाल एबेल बर्कशायर हैथवे एनर्जीका सीईओ हुन् र उनले समूहका बीमा बाहेकका सम्पूर्ण व्यवसायहरूलाई पहिले नै नेतृत्व दिँदै आएका छन्।
सभामा बफेटले भने, “म अझै केही समयसम्म उपस्थित रहनेछु र केही अवस्थामा उपयोगी हुन सक्नेछु,” तर सबै व्यावसायिक निर्णयमा अन्तिम निर्णय एबेलको नै हुने बताएका छन्। यो घोषणापछि सभामा उपस्थित सेयरधनीहरूले उभिएर ताली बजाउँदै स्वागत गरे। जवाफमा बफेटले हाँस्दै भने, “यो उत्साहजनक प्रतिक्रिया दुई तरिकाले बुझ्न सकिन्छ।”
बफेटको राजीनामाले अमेरिका कै सबैभन्दा सफल व्यवसायहरूमध्ये एक बर्कशायर हैथवेमा ठूलो परिवर्तन ल्याउनेछ। साथै, यसले अमेरिकी व्यवसाय र राजनीति दुवै क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको छ। बफेट लामो समयदेखि डेमोक्र्याटिक पार्टीका मुख्य सहयोगी हुन्। उनले २००८ मा बाराक ओबामालाई र २०१६ मा हिलारी क्लिन्टनलाई समर्थन गरेका थिए।
शनिबारको कार्यक्रममा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै भने, “व्यापारलाई हतियारको रूपमा प्रयोग गर्नु उचित होइन। यो सही पनि होइन र बुद्धिमानीपूर्ण पनि होइन।”
उनले जोड दिँदै भने, “अमेरिकाले विश्वका अन्य मुलुकहरूसँग व्यापार गर्न खोज्नुपर्छ। हामीले जुन कुरामा सबल छौं, त्यो गर्नुपर्छ, र उनीहरूले जुन कुरामा सबल छन्, त्यो गर्न दिनुपर्छ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस