Like us!
Follow us!
Connect us!
Watch us!

बत्ती झ्याप-झ्याप भएकोमा अशिम साहको व्यङ्ग्य - सरकार आफैं डार्क मोडमा छ, अब लाइट मोड स्विच गर्नुपर्छ

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, १२ : २५ मा प्रकाशित

बत्ती झ्याप-झ्याप भएकोमा अशिम साहको व्यङ्ग्य - सरकार आफैं डार्क मोडमा छ, अब लाइट मोड स्विच गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशिम साहले देशभरि बारम्बार हुने विद्युत् अवरोध (लोडसेडिङ)लाई लिएर संसदमा कडा व्यङ्ग्य गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘बिजुली झ्याप्प झ्याप्प जानु’ नेपाली नागरिकको नयाँ दैनिकी बनेको टिप्पणी गर्दै सरकारमाथि गम्भीर प्रश्न उठाए।

'सरकार आफैं डार्क मोडमा अपरेट भइरहेको छ र देशलाई पनि डार्क मोडमै लैजाँदैछ। अब सेटिङ चेन्ज गरेर लाइट मोड गर्नुपर्छ,' सांसद साहले व्यङ्ग्य गर्दै भने।

उनले संसदजस्तो संरचनामा त इनभर्टर र जेनेरेटरका सुविधा छन् तर सर्वसाधारण नागरिकका घरमा त्यो सुविधा नरहेको भन्दै आम नागरिकको दैनिक जीवन बत्ती जानुले कति प्रभावित भइरहेको छ भन्ने तथ्य औँल्याए।

'बत्ती जानासाथ खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प हुन्छ, जताततै अन्धकार हुन्छ,' उनले भने, 'हिजो साँझ मात्रै देशका थुप्रै ठाउँमा एकैपटक बत्ती गयो, कसैको अस्पतालमा अपरेसन रोकिएको हुनसक्छ, कसैको परीक्षा तयारी बिग्रिएको हुनसक्छ।'

उनले अहिले हावा पनि चलेको छैन, पानी पनि परेको छैन, तर बत्ती अझै झ्याप्प जाने गरेको भन्दै व्यवस्थापन पक्षप्रति गम्भीर प्रश्न उठाए।

'धेरै हावा चल्यो बिजुली जान्छ, पानी पर्‍यो बिजुली जान्छ। अहिले न हावा छ, न पानी। तैपनि झ्याप्प बत्ती जान्छ,' उनले कटाक्ष गरे। अन्त्यमा उनले प्रश्न गरे— अब जनता यो समस्या समाधान नभएसम्म ऊर्जामन्त्रीलाई धन्यवाद दिनुपर्ने हो कि नेपाल विद्युत प्राधिकरणका नयाँ एमडीलाई?

सांसद साहले चेतावनी दिँदै भने, 'यदि बिजुलीको लुकामारी यस्तै चलिरह्यो भने, अब जनताले सरकारको बत्ती नै निभाइदिने दिन टाढा छैन।' उनले सरकारलाई गम्भीर बन्न पनि आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको