चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिमेन्ट कम्पनीहरुले समग्रमा सुधारिएको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनीमध्ये चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सर्वोत्तम सिमेन्ट र शिवम् सिमेन्टको वित्तीय अवस्था सन्तोषजनक देखिए पनि घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयलले भने यो अवधिमा घाटा व्यहोरेका छन्। यी कम्पनीहरूको वित्तीय अवस्था चित्तबुझ्दो छैन।
नाफामा सर्वोत्तम सिमेन्ट सबैभन्दा अगाडि
सर्वोत्तम सिमेन्टको नाफा अघिल्लो वर्षको तुलनामा झण्डै चारगुणा (३९९%) ले वृद्धि भई ६० करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।
शिवम् सिमेन्टले पनि ९६ प्रतिशतले वृद्धि गर्दै ४० करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यद्यपि, बाँकी दुई कम्पनी घाटामा छन्। घोराही सिमेन्टको घाटा ५५ करोड ४३ लाख रुपैयाँ र सोनापुर मिनरल्स एण्ड आयलको ७ करोड ५९ लाख रुपैयाँ रहेको छ।
नाफासँगै प्रतिसेयर आम्दानी (EPS) मा पनि सर्वोत्तम सिमेन्ट नै अगाडि छ। हाल कम्पनीको ईपीएस १६.१६ रुपैयाँ छ। शिवम् सिमेन्टको ईपीएस ९.७९ रुपैयाँ छ भने, घाटामा रहेका घोराही र सोनापुरको ईपीएस क्रमशः ऋणात्मक १२.१४ रुपैयाँ र २.४७ रुपैयाँ छ।
पुँजी संरचनाका हिसाबले शिवम् सिमेन्ट सबैभन्दा ठूलो हो। चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीको चुक्तापुँजी ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। सर्वोत्तम सिमेन्टको चुक्तापुँजी ५ अर्ब २ करोड, घोराहीको ४ अर्ब ५६ करोड र सोनापुरको ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ।
कम्पनीहरूको उत्पादन बिक्री आम्दानी पनि फरक देखिएको छ।
- सर्वोत्तम: ६ अर्ब ८१ करोड रुपैयाँ (४९.४% वृद्धि)
- शिवम्: ५ अर्ब ३९ करोड रुपैयाँ (-१०.०१ % )
- घोराही: ३ अर्ब ५२ करोड रुपैयाँ (१४.२७ % )
- सोनापुर: १ अर्ब ७६ करोड रुपैयाँ (४९.७९% )
सर्वोत्तम सिमेन्टको जगेडा कोष ४ अर्ब ३३ करोड रुपैयाँ छ, भने शिवम् सिमेन्टको जगेडा ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। अन्य कम्पनीहरूमा घोराहीको ४ अर्ब १४ करोड र सोनापुरको २ अर्ब ६४ करोड रुपैयाँ जगेडा कोष छ।
सर्वोत्तम सिमेन्टको वित्त खर्च २२ करोड ७० लाख रुपैयाँ, शिवम् सिमेन्टको ७५ लाख रुपैयाँ र सोनापुरको २६ करोड ४३ लाख रुपैयाँ छ। तर, घोराही सिमेन्टको वित्त खर्च अत्यधिक ऋणात्मक देखिएको छ — ६८ करोड ८७ लाख रुपैयाँ। यो कम्पनीको कमजोर वित्त व्यवस्थापनलाई संकेत गर्छ।
वित्तीय सूचकहरूका आधारमा हेर्दा नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरूमा सर्वोत्तम सिमेन्ट नै सबैभन्दा बलियो देखिएको छ। नाफा, आम्दानी, ईपीएस, जगेडा कोष र बजार मूल्य सबैमा यसले अग्रता लिएको छ। शिवम् सिमेन्ट पनि स्थिर रूपमा बलियो देखिन्छ, भने घोराही र सोनापुर भने वित्तीय दबाबमा रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस