Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो निजी क्षेत्रमा प्रवाह हुने कर्जा ,बैंकहरूले ९ महिनामा दिए ३ खर्ब ६१ अर्ब ऋण

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, १५ : १२ मा प्रकाशित

बढ्यो  निजी क्षेत्रमा प्रवाह हुने कर्जा ,बैंकहरूले ९ महिनामा दिए  ३ खर्ब ६१ अर्ब ऋण

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा लामो समयदेखि सुस्त रहेको कर्जा प्रवाहमा सुधार देखिएको हो ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई कुल ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.१ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यो वृद्धि दर ४.६ प्रतिशत (२ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ) मात्र थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा भने २०८१ चैत मसान्तसम्म कर्जा प्रवाह ८.३ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६३.४ प्रतिशत कर्जा गैर–वित्तीय संस्थागत क्षेत्रमा र ३६.६ प्रतिशत कर्जा व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित भएको छ । अघिल्लो वर्ष यस अवधिमा यी अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत थिए ।

विभिन्न प्रकारका बैंकहरूको कर्जा प्रवाह हेर्दा वाणिज्य बैंकहरूले ७.४ प्रतिशत, विकास बैंकहरूले ४.६ प्रतिशत र वित्त कम्पनीहरूले ६.४ प्रतिशतले कर्जा प्रवाह बढाएका छन् । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जाको सुरक्षा आधार हेर्दा १४.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) मा र ६५.२ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ । अघिल्लो वर्ष यी अंश क्रमशः ११.४ प्रतिशत र ६७.६ प्रतिशत थिए ।

 कुन क्षेत्रमा कति ?

उद्योग तथा व्यवसायतर्फ प्रवाहित कर्जाको वृद्धि दर हेर्दा, औद्योगिक उत्पादन क्षेत्रमा ९.६ प्रतिशत, निर्माण क्षेत्रमा ११.४ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १०.२ प्रतिशत, सेवा उद्योगमा ८.६ प्रतिशत र उपभोग्य क्षेत्रमा ८.३ प्रतिशतले कर्जा प्रवाह बढेको देखिन्छ ।

कर्जाको प्रकृतिअनुसार हेर्दा, आवधिक कर्जा ४.९ प्रतिशत, मार्जिन कर्जा ३७.८ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ६०.६ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत, नगद प्रवाह कर्जा ५.२ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासहित) ४.९ प्रतिशतले बढेको छ । तर, अधिविकर्ष कर्जा भने १२.१ प्रतिशतले घटेको छ ।

त्यस्तै, २०८१ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्, जुन गत असार मसान्तको तुलनामा ५.७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा निक्षेप संकलन ४ खर्ब ९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले वाणिज्य बैंकमार्फत अमेरिकी डलर ३६३ करोड खुद खरिद गरी ४ खर्ब ८४ अर्ब ७१ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ । अघिल्लो वर्ष यो आँकडा डलर ४२६ करोड र तरलता ५ खर्ब ६६ अर्ब ५५ करोड रुपैयाँ थियो ।

यसका अतिरिक्त, राष्ट्र बैंकले अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी ३ खर्ब ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा राष्ट्र बैंकले डलर २ अर्ब ७६ करोड बिक्री गरी ३ खर्ब ६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको