Like us!
Follow us!
Connect us!
Watch us!

नवनियुक्त गभर्नर पाैडेलले पदभार ग्रहण गर्दै के- के भने ?

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १२ : ५६ मा प्रकाशित

नवनियुक्त गभर्नर पाैडेलले पदभार ग्रहण गर्दै के- के भने ?

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालमा मौद्रिक नीति र नियामकीय सुपरीवेक्षणलाई दुई मुख्य प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएपछि, गभर्नर पौडेलले बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार सम्हाले। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्र बैंकको १८औं गभर्नरको रूपमा नियुक्त गरेको हो।

पदभार ग्रहणपछिको आफ्नो पहिलो सार्वजनिक अभिव्यक्तिमा डा. पौडेलले भने,
'सरकारले ल्याएको बजेटको कार्यान्वयनमा मौद्रिक नीतिबाट सहकार्य हुनेछ। साथै, बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षण क्षमतामा उल्लेखनीय सुधार गरिनेछ।'

उनले सर्वसाधारणले बैंकमा राखेको निक्षेपको सुरक्षा राष्ट्र बैंकको मूल दायित्व भएको उल्लेख गर्दै, ऋण प्रवाह नीति (ल्यान्डिङ पोलिसी)को प्रभावकारिता निरन्तर मूल्याङ्कन गरिने बताए।

डा. पौडेलले मौद्रिक नीति निर्माणमा संवादलाई केन्द्रमा राख्ने दृष्टिकोण प्रस्तुत गर्दै भने, 'नीतिगत अपेक्षा उच्च छ, तर हामीकहाँ नीतिनिर्माण प्रक्रियामा समावेश हुनुपर्ने सरोकारवाला छन्। त्यसैले, व्यक्तिगत निर्णयभन्दा साझा छलफल र सुझावको आधारमा नीति तयार पारिनेछ।'

संविधान अनुसार, मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त भएका राष्ट्र बैंकका गभर्नरले पदग्रहण अघि प्रधानन्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको