नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
मंगलबार सार्वजनिक गरिएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि करिब ०.९४ प्रतिशत विन्दुले बढ्ने अनुमान गरेको हो। अघिल्लो वर्ष आर्थिक वृद्धि दर ३.६७ प्रतिशतमा सीमित थियो।
समीक्षामा भनिएको छ कि अघिल्ला दुई आर्थिक वर्षमा ऋणात्मक रहेको उत्पादनमूलक उद्योग, निर्माण, तथा थोक एवं खुद्रा व्यापार उप-क्षेत्रले चालु वर्षमा सकारात्मक वृद्धि गर्ने अनुमान गरिएको छ, जसका कारण समग्र आर्थिक वृद्धिमा सुधार आउने अपेक्षा गरिएको हो।
पर्यटन क्षेत्र पनि पुनरुत्थानको दिशामा देखिएको छ भने थोक तथा खुद्रा व्यापारमा विस्तार आएको छ। साथै, चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मध्यवर्ती उपभोग्य वस्तुहरूको आयात १७.८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १०.३ प्रतिशतले घटेको थियो।
राष्ट्र बैंकका अनुसार, यसले आन्तरिक उत्पादन क्षमताको उपयोगमा सुधार भएको संकेत गर्छ। समीक्षा अवधिमा औसत मुद्रास्फीति ४.५७ प्रतिशतमा सीमित रहेको छ, जुन ५ प्रतिशतको लक्ष्यभन्दा तल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस