Like us!
Follow us!
Connect us!
Watch us!

मध्य चमेलियामा दुई बैंकले लगानी गर्ने, ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यक छ -  सरोकारवाला

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १६ : १० मा प्रकाशित

मध्य चमेलियामा दुई बैंकले लगानी गर्ने, ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यक छ -  सरोकारवाला

दार्चुला पावरले दार्चुला जिल्लाको मार्मा गाउँपालिका –२ मा निर्माण गरिरहेको २८.३ मेगावाट क्षमताको मध्य–चमेलिया जलविद्युत् आयोजनामा लगानीको टुंगो लागेको छ । उक्त आयोजनामा नेपाल बैंकको अगुवाइमा नबिल बैंकले लगानी गर्ने भएका छन् ।

दार्चुला पावरले ५ अर्ब ६६ करोड रुपैयाँ लागतमा निर्माण गरेको आयोजनामा नेपाल बैंक र नबिल बैंकले ७५ प्रतिशत अर्थात् ४ अर्ब २४ करोड ५ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । बुधबार यस सम्बन्धी सम्झौता भएको छ ।

आयोजनामा नेपाल बैंकले २ अर्ब २४ करोड ५ लाख र नबिल बैंकले २ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । दार्चुला पावरको २५ प्रतिशत स्वपुँजी छ । दार्चुला पावर अपि पावर कम्पनीको सहायक कम्पनी हो । वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपाने र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्काले निजि क्षेत्रका लगानीकर्ताहरुलाई जलविद्युत क्षेत्रमा निर्धक्क भएर लगानी गर्न आग्रह गरे । उनले सरकारले लिएको लक्ष्य प्राप्तिका लागि पनि ठूलो मात्रामा विद्युत उत्पादन गर्नु पर्ने अवस्था रहेकाले विद्युत बिक्री हुँदैनकी भन्ने चिन्ता नर्गन आग्रह गरे ।

आगामी आर्थिक वर्षको बजेटमा समावेश भएको टक एण्ड पे’ को व्यवस्था सच्याउनु पर्ने पनि बताए । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ऊर्जा मन्त्रालयको प्रस्ताव बिनै ‘टेक एन्ड पे’ विद्युत् खरिद सम्झौताको व्यवस्था राखिएको उनको भन्दै उनले यहि कारणले विद्युत बिक्री नहुने समस्या नहरने बताए । ‘यो व्यवस्था राष्ट्रनिर्माणको अवधारणा विपरीत हो ।  बजेटमार्फत टेक अर पे प्रावधानलाई परिवर्तन गरी टेक एन्ड पे बनाइएको छ, जुन ऊर्जा मन्त्रालयको प्रस्ताव नै होइन,’ मन्त्री खड्काले भने, ‘यो विषयलाई तुरुन्त सच्याउन जरुरी छ ।’

आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्न लक्ष्य लिएको अवस्थामा विद्युत बिक्री हुदैनकी भन्ने चिन्ता नलिन उनले सबै लगानीकर्ताहरुलाई आग्रह गरे । सन् २०३५ सम्ममा नेपालमा नै १३ हजार ५०० मेगावाट विद्युतको खपत हुने प्रक्षेपण गरिएको छ । यो हिसाबले पनि विद्युत बिक्री हुँदैनकी भन्ने चिन्ता गर्नु नपर्ने उनको दाबी छ ।

अहिले उद्योगहरुमा आवश्यक पर्ने विद्युत समेत दिन नसकेको अवस्थामा विद्युत जति उत्पादन भए पनि खपत हुने उनले बताए । भारत र बंगलादेशसँग विद्युत बिक्री सम्झौता भइसकेको अवस्थामा विद्युत बढी हुने अवस्था नरहने उनको भनाइ थियो । उनले विद्युत प्रसारण लाइन विस्तामा पनि निजि क्षेत्रको लगानी हुनु पर्ने बताए । ‘नेपाल विद्युत प्राधिकरणले मात्रै प्रसारण लाइन बनाउने भन्दा पनि निजी क्षेत्रले समेत प्रसारण लाइन निर्माणमा अग्रसर बन्नु पर्छ,’ उनले भने । इलेक्ट्रोनिक सामानको प्रयोग बढाएर स्वदेशमा नै विद्युत खपत बढाउन सकिने उनको भनाइ छ । बंगलादेशमा विद्युतको माग बढी भए पनि अहिले थोरै मात्रै बिक्री गर्नु पर्ने अवस्था रहेको भन्दै विद्युत उत्पादनमा लाग्नु पर्ने समय रहेको उनको भनाइ थियो ।

त्यस्तै सोही अवसरमा प्रतिनिधिसदस्य दिलेन्द्र प्रसाद बडुले निजी क्षेत्रको लगानीमा बनेका आयोजनाहरु समयमा सम्पन्न भएर सरकारी आयोजनालाई दबाब सिर्जना भएको बताए । उनले नेपालको विकासका लागि निजि क्षेको लगानी निकै महत्वपूर्ण रहेको बताए । दार्चुलामा आयोजना निर्माण गरेको भन्दै उनले धन्यबाद सहित समयमा आयोजना सम्पन्न गर्नका लागि पनि आग्रह गरे । कुनै पनि आयोजना सम्पन्न गर्नका लागि मनदेखिनै इच्छा उत्पन्न हुनु पर्ने उनको भनाइ छ । नलगाडमा आयोजना जुन समयमा सम्पन्न गर्यो त्यसले नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण भएका आयोजनालाई पनि दबाब सिर्जना गरेको छ । राज्यले निजी क्षेत्रलाई लगानी गर्न सक्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ । ऐन कानुनहरु निर्माण गरेर निजि क्षेत्रलाई सहज बनाउनु पर्ने उनको भनाइ छ । प्रसारण लाइन पनि महत्वपूर्ण भएकाले त्यसमा पनि निजी क्षेत्रको सहभागिता हुनु पर्ने र त्यसले विद्युत बजारीकरण गर्न सहज हुने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल बैंकका सीईओ तिलकराज पाण्डेले आयोजना समयमा नै सम्पन्न गर्नु पर्ने बताए । समयमा आयोजना सम्पन्न नहुँदा लागत बढ्ने भएकाले समयमा नै आयोजना सम्पन्न गर्ने तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो । त्यस्तै अपि पावर कम्पनीका पूर्व अध्यक्ष गुरु प्रसाद न्यौपानले सानो सानो लगानी गरेर काम सुरु गरेर अहिलेको अवस्थामा आइ पुगेको बताए । राष्ट्र बैंकबाट विदा भएपछि ऊर्जा क्षेत्रमा लागेको र २५ वर्ष यो क्षेत्रमा बिताइसकेको भन्दै उनले घरभित्रै बाटै पुँजी जुटाउनु पर्ने बताए । आफ्नो कम्पनीमार्फत हालसम्म १०७ मेगावट विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोडिसकेको उनको भनाइ छ । त्यस्तै स्थानीयलाई रोजगारी दिने विषयमा पनि आफूहरु लागिरहेको उनले जानकारी दिए । ‘हालसम्म हामीहरुले १ हजार भन्दा बढीलाई रोजगारी दिएका छौं । यसमा नै हामी गर्भ गछौं,’ उनले भने ।

बैंकहरुले निजी क्षेत्रका लगानीकर्ताहरुलाई कालोसूचीमा राख्ने र बैंकमा रकम राखेर देश नबन्ने उनको भनाइ छ । देशलाई समृद्ध बनाउनका लागि धेरै लगानी गर्नु पर्ने उनको भनाइ छ । ऊर्जा क्षेत्रलाई तर्साउने हिसावले बजेटमा केही व्यवस्थाहरु आएको भन्दै यस्ता व्यवस्थाले गर्दा लगानी गर्ने वातावरण नबन्ने उनको भनाइ थियो । बैंकहरुले पानीमा लगानी गरेको खण्डमा देशमा रोजगारी सिर्जना हुनेदेखि अर्थतन्त्रमा पनि सुधार हुने उनको दाबी थियो । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपानेले बताए । उनले वित्तीय लगानी गर्ने बैंकलाई धन्यबाद दिदै उनले डेढ बर्षमा आयोजना सम्पन्न गर्ने उनको भनाइ छ । तोकिएको समयमा आयोजना निर्माण सम्पन्न गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको