Like us!
Follow us!
Connect us!
Watch us!

लगानी बोर्ड बैठक - मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १६ : २० मा प्रकाशित

लगानी बोर्ड बैठक - मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४औं बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिसहित विभिन्न ठूला परियोजनालाई अघि बढाउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म कुल ८१.०४१ किलोमिटर दूरीको केवलकार निर्माणका लागि लगानी स्वीकृति प्रदान गरिएको हो।

झण्डै ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण हुने यो केवलकार परियोजना ‘बुट’ (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडेलमा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्ने प्रस्ताव गरेको हो। परियोजना विकासका विषयमा थप छलफल गर्न बोर्डले प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। परियोजना सम्पन्न भएपछिको चरणमा स्थानीय क्षेत्रमा पर्यटकीय गतिविधि र रोजगारीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।

बैठकले अन्य महत्वपूर्ण परियोजनाहरूलाई पनि अगाडि बढाउने निर्णय गरेको छ। जसअनुसार, ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजना (लगानी अनुमानित १६० अर्ब रुपैयाँ) का लागि विस्तृत अध्ययन प्रतिवेदन थप परिष्कृत गर्ने निर्णय भएको छ। साथै, नेपालमा रेलमार्ग विकासका लागि दक्षिण कोरियाको कोरेल संस्थासँग सहकार्य गर्न प्रस्तावित सम्झौता मस्यौदालाई मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय गरिएको छ।

यस्तै, बैठकले ४३.२ मेगावाट क्षमताको छिलुुङ खोला जलविद्युत आयोजना, २१६ मेगावाटको बझाङ माथिल्लो सेती आयोजना, र ४४ मेगावाटको बकान खोला जलविद्युत परियोजनाको पनि लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

साथै, जनकपुरमा रिफाइन इडिबल ओयल (खानेतेल) उद्योग तथा देशका विभिन्न स्थानहरूमा सूचना प्रविधि (आईटी) पार्क स्थापना गर्न प्राप्त प्रस्तावहरूलाई पनि अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

यी परियोजनाहरूको कार्यान्वयनले नेपालको पूर्वाधार विकास, रोजगारी सृजना र विदेशी तथा निजी क्षेत्रको लगानी आकर्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको