स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले नेदरल्याण्डलाई पराजित गरेको छ । सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले डच टोलिलाई ६ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपाली टोलिले ४ विकेट गुमाएर १९ ओभर ४ बलमा भेटाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै आरिफ शेख ३९ रनमा रिटायर्ड हट भए भने भीम सार्कीले २७ रनको योगदान दिए । नेदरल्याण्ड्का लागि बेन फ्लेचर,आर्यन दत्त, जायर शेर क्याचेट र रोइलोफ भ्यान डर मर्वेले समान १ विकेट लिए । यो जितसँगै नेपालले पहिलो खेलमा सुपर ओभरमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।
यस अघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रनको पारी खेले । पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ६३ रनको अर्धशतकी साझेदारी गरेका थिए । जुल्फिकरले १४ रन बनाए । त्यस्तै रोइलेफ भान डर मिर्वोले ३६ तथा आर्यान दतले १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने, रुपेष सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी परिवर्तन भएका छन् । स्कटल्याण्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहँदा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस