अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा अमेरिकाले आक्रमण गरेको दाबी गरेका छन्। इजरायलले सुरु गरेको सैन्य कारबाहीमा अमेरिका समेत खुलेर सहभागी भएको संकेत यस बयानबाट देखिएको छ। ट्रम्पका अनुसार, अमेरिकाले नातान्ज, फोर्डो र इस्फहान नामक तीन संवेदनशील आणविक साइटहरूमा हवाई आक्रमण गरेको हो।
उनका अनुसार उक्त आक्रमणहरू “अत्यन्त सफल” भएका छन् र इरानको यूरेनियम प्रशोधन क्षमतामा प्रत्यक्ष असर पुगेको छ। विशेषगरी फोर्डो साइटलाई सबैभन्दा संवेदनशील मानिँदै आएको छ, जसमा पर्वत मुनि रहेको संरचना समेत अमेरिकी आक्रमणको निशाना बनेको हो।
इरानको नातान्ज यूरेनियम प्रशोधन केन्द्र तेहरानदेखि २२० किलोमिटर टाढा अवस्थित छ र इरानको मुख्य यूरेनियम समृद्धिकरण केन्द्र मानिन्छ। यहाँ ६० प्रतिशतसम्म यूरेनियम प्रशोधित गरिएको थियो, जुन हथियार निर्माणको अन्तिम स्तरभन्दा केही कम हो। यसअघि पनि इजरायली साइबर हमला (स्टक्सनेट भाइरस) द्वारा यस केन्द्रमा क्षति पुर्याइएको थियो।
फोर्डो साइट तेहरानबाट करिब १०० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित छ। यसको निर्माण इरानले सन् २००७ तिर सुरु गरेको भए पनि २००९ मा मात्र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) लाई जानकारी दिएको थियो। भारी सुरक्षा घेऱामा रहेको यो साइट पर्वत मुनि रहेकोले हवाई आक्रमणबाट जोगिन सक्ने संरचनामा बनाइएको हो। यस्ता केन्द्रमा निशाना साध्न अत्याधुनिक ‘बंकर बस्टर’ बम प्रयोग गर्नुपर्ने हुन्छ, जुन सामान्य आक्रमण भन्दा निकै संवेदनशील मानिन्छ।
तेस्रो लक्ष्य इस्फहान आणविक प्रविधि केन्द्र हो, जुन तेहरानबाट करिब ३५० किलोमिटर टाढा रहेको छ। यो केन्द्र इरानको अनुसन्धान केन्द्रको रुपमा परिचित छ जहाँ सयौँ वैज्ञानिकहरू कार्यरत छन्। यहाँ चिनियाँ प्रविधिमा आधारित तीन अनुसन्धान रिएक्टरहरू समेत रहेको जनाइएको छ। पछिल्लो हवाई आक्रमणमा यो साइटको यूरेनियम रूपान्तरण केन्द्रमा क्षति पुगेको आशंका गरिए पनि, IAEA ले हालसम्म विकिरण वृद्धि नभएको जनाएको छ।
यो सैन्य कारबाहीसँगै इरान, इजरायल र अमेरिका बीचको द्वन्द्व झनै चर्किन सक्ने देखिएको छ। आणविक केन्द्रहरूमा प्रत्यक्ष हवाई आक्रमण हुनु भनेको पश्चिम एसियाको सुरक्षा सन्तुलनमा गम्भीर असर पार्ने सम्भावना भएको विषयविज्ञहरूको भनाइ छ।
ट्रम्पको सार्वजनिक दाबीले अमेरिकी प्रशासनको आधिकारिक र गुप्त सैन्य कदमहरू उजागर गरेको मानिएको छ। यद्यपि, अमेरिकाले हालसम्म यो विषयमा कुनै आधिकारिक पुष्टि गरेको छैन। यस घटनाले वैश्विक ऊर्जा, सुरक्षा तथा कूटनीतिक सम्बन्धहरूमा दीर्घकालीन असर पार्न सक्ने संकेत देखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस