अमेरिका र इरानबीच गत साता भएको अन्तरिम सहमतिलाई कार्यान्वयन गर्ने उद्देश्यले स्विट्जरल्याण्डमा उच्चस्तरीय वार्ता जारी रहेको छ। वार्तामा दुवै पक्षले आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध, इरानको रोक्का सम्पत्ति फुकुवा तथा हर्मुज जलडमरूमध्यको अवस्थालगायतका विषयमा गहन छलफल गरिरहेका छन्।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने टोलीमा जारेड कुशनर र स्टिभ विटकफ सहभागी छन्। इरानको टोलीको नेतृत्व संसद् सभामुख मोहम्मद बाघेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन्। पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।
वार्ताअघि इरानले इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राखेको भन्दै पुनः हर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेको थियो। यद्यपि अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमन अझै जारी रहेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनभित्र व्यापक सम्झौता हुन नसके हर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजहरूमा अतिरिक्त शुल्क लगाउन सकिने चेतावनी दिएका छन्।
वार्तामा सहभागी एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार इरानी प्रतिनिधिहरू अझै पनि सक्रिय रूपमा छलफलमा संलग्न छन् र इरान वार्ताबाट बाहिरिएको भन्ने समाचारहरू सत्य नभएका बताएका छन्। उनले वार्ताको ठूलो हिस्सा हर्मुज जलडमरूमध्य खुला राख्ने उपाय तथा दक्षिणी लेबनानमा युद्धविरामको कार्यान्वयन सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको जानकारी दिए।
यसैबीच, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धका कारण रोक्का रहेका अर्बौं डलर बराबरका सम्पत्ति फुकुवा गर्ने विषयमा पनि छलफल भइरहेको छ। इरानी पक्षले आणविक कार्यक्रम, तेल निर्यात र प्रतिबन्ध सम्बन्धी विषयमा केही प्रगति भएको दाबी गरेको छ भने अमेरिकी पक्षले पनि आणविक कार्यक्रमको विषयमा ठोस उपलब्धि हासिल गर्ने अपेक्षा राखेको छ।
यद्यपि वार्तामा केही सकारात्मक संकेत देखिए पनि वासिङ्टन र तेहरानबीच दशकौँदेखिको अविश्वास अझै मुख्य चुनौतीका रूपमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँगको सम्बन्धबारे बोल्दै आफू र राष्ट्रपति ट्रम्प दुवै स्वतन्त्र राष्ट्रका नेताहरू भएको बताएका छन्। उनले धेरै विषयमा समान धारणा भए पनि कहिलेकाहीँ मतभेद हुने गरेको उल्लेख गरे।
नेतान्याहुले इरानविरुद्धको सैन्य अभियानले त्यहाँको वर्तमान शासन कमजोर बनेको दाबी गर्दै भविष्यमा इरानी जनताले आफ्नै हातमा देशको नेतृत्व लिने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
वार्ताको प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि देखिएको छ। हर्मुज जलडमरूमध्यको अवस्थाबारे अनिश्चितता कायम रहेपछि आइतबार अमेरिकी कच्चा तेलको मूल्य झण्डै ३ प्रतिशतले बढेर प्रतिव्यारेल ७८.७० डलर पुगेको छ भने ब्रेन्ट क्रुडको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भएर प्रतिव्यारेल ८१.७० डलर पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस