Like us!
Follow us!
Connect us!
Watch us!

मेडे कल गर्दै गुवाहाटी–चेन्नई इन्डिगो फ्लाइट बेंगलुरुमा आकस्मिक अवतरण

अर्थ संसार

आइतबार, ०८ असार २०८२, ०८ : ३९ मा प्रकाशित

मेडे कल गर्दै गुवाहाटी–चेन्नई इन्डिगो फ्लाइट बेंगलुरुमा आकस्मिक अवतरण

इन्डिगो एयरलाइन्सको गुवाहाटीबाट चेन्नई जाँदै गरेको एक उडानले इन्धन अभावका कारण आपतकालीन मेडेकल जारी गर्दै बेंगलुरुस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। विमानमा १६८ जना यात्रु सवार थिए।

इन्डिगोको फ्लाइट नम्बर 6E-6764 (ए३२१) गुवाहाटीबाट साँझ ४:४० बजे प्रस्थान गरेको थियो र साँझ ७:४५ बजेतिर चेन्नई अवतरण गर्ने तयारीमा थियो। तर, रनवेमा ल्यान्डिङ गियरले छोएको केही समयमै पाइलटले ‘गो अराउण्ड’ गर्ने निर्णय गरे। यो प्रक्रिया प्राविधिक भाषामा ‘बोक्ड ल्यान्डिङ’ भनिन्छ। त्यसपछि विमान चेन्नईमा पुन: अवतरण नगरी करिब ३५ माइल टाढाको दूरीमा रहेको बेंगलुरुतर्फ मोडिएको थियो।

एयर ट्राफिक कन्ट्रोल (एटीसी) का स्रोतका अनुसार पाइलटले तत्काल मेडे कल दिएका थिए, जसपछि बेंगलुरु विमानस्थलमा आकस्मिक सेवा टोलीलाई सतर्क बनाइएको थियो। एम्बुलेन्स, दमकल र चिकित्सक टोली तत्कालै रनवेमा तैनाथ गरिएको थियो। विमान साँझ ठीक ८:२० बजे सुरक्षित अवतरण गर्न सफल भयो।

एक यात्रुले बताएअनुसार, “अचानक विमान उचालिँदा धेरै यात्रु तनावमा परेका थिए, केही त प्रष्ट डराएको देखिन्थे।” ती यात्रुले आफ्नो नाम गोप्य राख्न चाहे।

चेन्नईमा दोहोरिएको ल्यान्डिङ प्रयास नगरीकन पाइलटले बेंगलुरु मोड्ने निर्णय लिएको पुष्टि एयर ट्राफिक कन्ट्रोल स्रोतले गरे। घटना यति संवेदनशील बन्यो कि उडानमा संलग्न दुबै पाइलटलाई तत्काल ‘ड्यूटी अफ’ गरिएको छ, यद्यपि इन्डिगोले यसबारे आधिकारिक पुष्टि गरिसकेको छैन।

उक्त घटना हालैको एअर इन्डिया दुर्घटनापछि आएको हो, जहाँ अहमदाबादमा दुर्घटनाग्रस्त भएको ड्रीमलाइनरमा २४१ जनाको ज्यान गएको थियो। त्यही उडानले पनि दुर्घटनाअघि मेडे कल गरेको पुष्टि भएको थियो।

यस्तै, शुक्रबार मडुरैका लागि उडेको अर्को इन्डिगो विमानले पनि प्राविधिक समस्या देखिएपछि चेन्नईमै फर्कन माग गरेको थियो। सो विमान सुरक्षित अवतरण गराएर सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको