अमेरिकाले ईरानको आणविक पूर्वाधारमाथि आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघको विशेष सुरक्षा परिषद् बैठकमा बोल्दै ईरानले स्पष्ट चेतावनी दिएको छ – “यो सीधा आक्रमण हो, र यसको जवाफ दिने अधिकार हामीसँग सुरक्षित छ। कारबाहीको समय, ढाँचा र स्तर ईरानी सेनाले तय गर्नेछ।”
संयुक्त राष्ट्रसंघका लागि ईरानका स्थायी प्रतिनिधि अमिर सईद इरवानीले भने, “अमेरिकाले इजरायली एजेन्टको रूपमा आक्रमण गरेर कूटनीतिक सम्भावना समाप्त पार्न खोजेको छ। यस आक्रमणको जवाफमा सबै आवश्यक कदम चालिनेछ।”
१४ वटा बंकर बस्टर बम र १२५ जहाजद्वारा अमेरिकाको आक्रमण
अमेरिकाले तीन वटा मुख्य आणविक साइटहरूमा शक्तिशाली आक्रमण गरेको दाबी गरिएको छ। १४ वटा बंकर बस्टर बम, दर्जनौं टमहक मिसाइल र १२५ भन्दा बढी लडाकु विमान प्रयोग गरिएको छ। यस आक्रमणपछि अमेरिका र इजरायलले मध्यपूर्वीय तनावलाई चरम सीमामा पुर्याएको विश्लेषण गरिएको छ।
मानव अधिकार समूहका अनुसार, इजरायली आक्रमणबाट अहिलेसम्म ९५० जना मारिएका र ३,४५० भन्दा बढी घाइते भएका छन्।
ईरानको आरोप – “अमेरिका अर्को महँगो र निराधार युद्धमा फसिँदै”
इरवानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई आरोप लगाउँदै भने, “अमेरिकालाई अर्को महँगो, आधारहीन युद्धमा जबर्जस्ती घिसारिएको छ।” उनले इजरायलमाथि “अणु हतियार बनाउन लागिपरेको झूटा प्रचार” गरिरहेको आरोप पनि लगाए।
उनले सुरक्षा परिषद्मा आक्रोश पोख्दै भने, “अन्तर्राष्ट्रिय कानुनको पूर्ण उल्लंघन गरिएको छ। अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय शान्तिमा खलल पुर्याएका छन्।”
पश्चिमी देशहरूको मौनता र दोहोरो मापदण्डमाथि कटाक्ष
ईरानी दूतले अमेरिका, बेलायत, फ्रान्स लगायत पश्चिमी राष्ट्रहरूको “मौनता, दोहोरो मापदण्ड र मिलेमतो” लाई गम्भीर आरोप लगाउँदै संयुक्त राष्ट्रसंघलाई हस्तक्षेप गर्न आह्वान गरे।
उनले भने, “इजरायलले कूटनीतिक प्रक्रिया नष्ट गर्यो। उनीहरूको कूटनीतिक प्रस्ताव केवल छलकपट थियो, जुन अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पार्नका लागि प्रयोग गरिएको नीति मात्र थियो।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस