बर्खा लागेसँगै नेपालबाट विद्युत निर्यात हुन थालेको छ । सुख्खा याममा विद्युत आयात गर्नु पर्ने भए पनि बर्खाको समयमा भने नेपालले विद्युत निर्यात गर्ने गरेको हो ।
असार सुरुभसँगै नेपालले विद्युत निर्यात सुरु गरेको छ । जस अनुसार नेपालले दैनिक साढे १० करोड रुपैयाँको विद्युत निर्यात गर्न थालेको हो । नेपालले वर्षायाम सक्रिय भई जलप्रवाह बढेपछि उत्पादन वृद्धि भए अनुसार विद्युत निर्यात गर्न थालेको हो । आन्तरिक खपत कटाएर बाँकी विद्युत् नेपालले बङ्गलादेश, भारतका विभिन्न राज्य र इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा निर्यात गर्ने गरेको छ । । नेपाल विद्युत् प्राधिकरणका अनुसार असार १ गतेदेखि बङ्गलादेशमा ४० मेगावाट, भारतको विहारमा १२५ मेगावाट र हरियाणामा २०० मेगावाट विद्युत् नियमित रूपमा गइरहेको छ । साथै आईईएक्स मार्फत दैनिक बोलकबोल प्रणालीद्वारा थप परिमाणमा पनि विद्युत् बिक्री भइरहेको प्राधिकरणले जनाएको छ ।
गत शनिबार मात्रै नेपालबाट २४ घण्टामा १५ हजार ९१८ मेगावाट घण्टा विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपैयाँ आम्दानी भएको थियो । यो रकममा बङ्गलादेशतर्फको बिक्रीसमेत समावेश छ । बङ्गलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् बिक्री भइरहेको छ । विहारतर्फ निर्यात हुने विद्युत प्रतियुनिट ८.७२ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै उत्तरप्रदेशतर्फको दर पनि यस्तै छ । यद्यपि आईईएक्समा भने नेपाली विद्युत् ३ देखि ४ रुपैयाँमै बेच्नुपर्ने अवस्था देखिएको छ । हाल सबै किसिमका निर्यातको औसत प्रतियुनिट दर करिब ६.७० रुपैयाँ रहेको प्राधिकरणको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस