नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जुन २७ देखि २९ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट’ (BIS) को ९५ औं वार्षिक बैठकमा प्रतिनिधित्व गरेका छन्। सन् १९३० मा स्थापित BIS एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ देशका केन्द्रीय बैंकहरू सदस्य रहेका छन्।
विश्वव्यापी मौद्रिक र वित्तीय स्थायित्व कायम राख्न स्थापित यो संस्थाले केन्द्रीय बैंकहरूबीच सहकार्य बढाउने, वित्तीय प्रणालीको विकास र स्थायित्व सुनिश्चित गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। वार्षिक बैठकमा BIS सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरू र उच्च अधिकारीहरू सहभागी थिए।
गभर्नर डा. पौडेलले उक्त बैठकमा ‘क्रस-बोर्डर भुक्तानी’ र ‘BIS इनोभेसन हब सेमिनार’ विषयक अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए। कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा भएका उपलब्धि र चुनौतीहरू, कृत्रिम बौद्धिकता (AI) को प्रयोग तथा बैंकिङ प्रणालीमा यसको प्रभाव र त्यसलाई व्यवस्थापन गर्न आवश्यक नीतिगत उपायहरूमा छलफल भएको थियो। साथै, उनले ‘नियमन र प्रतिस्पर्धा’ विषयमा भएको छलफलमा पनि सहभागिता जनाएका थिए।
बैठकका क्रममा BIS का महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक गरे भने प्राध्यापक एस. मौरिस ओब्स्टफेल्डले ‘द इन्टरनेशनल मनिटरी सिस्टम अ फोर्क इन द रोड’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे। साथै, गभर्नर पौडेलले BIS का महाप्रबन्धक कार्सटेन्ससँग भेटघाट पनि गरेका थिए।
त्यसैगरी, बैंकिङ विभागका प्रमुख लुइस बेङ्गोचाको नेतृत्वमा विभागका अन्य उच्च अधिकारीहरूसँग पनि भेटघाट गरी बहुआयामिक छलफल गरिएको थियो। बैठकमा विदेशी विनिमय सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद र विश्वबजारमा उपलब्ध नयाँ वित्तीय उपकरणहरूमा लगानी गरी विदेशी विनिमय सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने प्रतिफल बढाउने सम्भावित सहकार्यका विषयमा छलफल भएको थियो। साथै, विदेशी विनिमय सञ्चितिलाई सुरक्षित र प्रभावकारी बनाउन थप लगानीका अवसरहरूका लागि आवश्यक सहकार्य गर्ने विषयमा पनि छलफल गरिएको थियो।
बैठककै क्रममा गभर्नर डा. पौडेल र पिपल्स बैंक अफ चाइनाका गभर्नर पैन गोंगशेंगबीच दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहयोग र बैंकिङ कारोबार तथा भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने विषयमा वार्ता भएको थियो। कार्यक्रममा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नर कार्यालयका निर्देशक तथा सञ्चालक समितिका सचिव शरण कुमार अधिकारी पनि सहभागी थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस