Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा थपियो एकैदिन ११ अर्ब निक्षेप ,कर्जा प्रवाह भने सुस्तै- कारण के ?

अर्थ संसार

विहीबार, १९ असार २०८२, ११ : २३ मा प्रकाशित

बैंकहरुमा थपियो एकैदिन ११ अर्ब निक्षेप ,कर्जा प्रवाह भने सुस्तै- कारण के ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ७० खर्ब ८२ अर्ब रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकको असार १६ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले उक्त रकम बराबरको निक्षेप संकलन गरेका हुन् । केन्द्रीय बैंकको तथ्यांक अनुसार असार १५ गतेको तुलनामा असार १६ गते बैंक तथा वित्तीय संस्थामा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार १५ गते बैंक तथा वित्तीय संस्थामा ७० खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो । 
यो अवधिमा वाणिज्य बैंकहरुमा कुल ६३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । 

तर, निक्षेपमा यो वृद्धि भए पनि कर्जा प्रवाह भने अपेक्षाकृत सुधार देखिएको छैन । असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५५ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यसमा वाणिज्य बैंकहरूको हिस्सा ४९ खर्ब ६२ अर्ब रुपैयाँ छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूले ६ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

बजारमा तरलताको अवस्था बढी सक्रिय रहेको देखिन्छ । केन्द्रीय बैंकले बजारबाट नियमित रूपमा तरलता प्रशोधन गर्दै आएको छ। 

अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ । यस्तै, बैंकहरूको कर्जा र निक्षेपको अनुपातलाई जनाउने सीडि (क्रेडिट–डिपोजिट) रेसियो पनि घटेर ७७.७३ प्रतिशतमा आइपुगेको छ। केही बैंकहरूको सीडि रेसियो ७० प्रतिशतभन्दा पनि कम देखिएको छ, जसले कर्जा प्रवाहमा केही सुस्ती आएको संकेत दिन्छ। कर्जा प्रवाह बढाउन अझ प्रभावकारी रणनीति आवश्यक रहेको विश्लेषकहरू बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको