भारतीय पूँजी बजार नियामक संस्था, सेबी (SEBI) ले अमेरिकी ट्रेडिङ कम्पनी Jane Street Group का चार इकाईलाई भारतीय सेयर बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ। १०५ पृष्ठ लामो अन्तरिम आदेशमार्फत सेबीले कम्पनीले निफ्टी ५० र बैंक निफ्टी सूचकांकहरूमा व्यापक र योजनाबद्ध रूपमा हस्तक्षेप गरी बजारमा हेरफेर गरेको आरोप लगाएको छ।
कसरी गरिएको थियो सूचकांकमा हस्तक्षेप?
सेबीले सार्वजनिक गरेको विवरण अनुसार, Jane Street ले मुख्यतः ‘एक्सपायरी’ दिनमा आक्रामक तरिकाले सूचकांकमा समावेश प्रमुख स्टकहरू खरिद गर्ने र त्यसपछि ती स्टकहरूलाई दिउँसोको समयमा फिर्ता बिक्री गर्ने रणनीति अपनायो। यस रणनीतिमा, सूचकांकलाई कृत्रिम रूपमा माथि–तल सार्दै कम्पनीले आफ्नो ‘index options’ मा लगानीबाट अर्बौं नाफा कमायो।
१८ कारोबार सत्रमा गरिएको हेरफेर
सेबीले १८ वटा कारोबार सत्र पहिचान गरेको छ — जसमध्ये १५ सत्र Bank Nifty र ३ सत्र Nifty 50 मा केन्द्रित थिए। यी सत्रहरूमा Jane Street ले क्यास तथा डेरिभेटिभ बजारमा तीव्र, ठूलो र आक्रामक किनबेचमार्फत मूल्यमा कृत्रिम चाप सिर्जना गर्यो।
बैंक निफ्टीमा भएका प्रमुख हस्तक्षेपहरू
Jane Street को मुख्य हेरफेर बैंक निफ्टीमा देखिएको थियो। कम्पनीले HDFC Bank, ICICI Bank, Axis Bank, State Bank of India, Kotak Mahindra Bank, IndusInd Bank, Federal Bank, Bank of Baroda, IDFC First Bank, AU Small Finance Bank, Punjab National Bank, Canara Bank र Bandhan Bank मा ठूलो परिमाणमा किनबेच गरेको सेबीको निष्कर्ष छ।
एक उदाहरणको रूपमा, २०२४ जनवरी १७ मा कम्पनीले यी स्टकहरूमा ₹४,३७० करोड बराबरको कारोबार गर्दै ₹६७३ करोड नाफा कमाएको थियो।
निफ्टी ५० स्टकमा पनि देखिएको समान रणनीति
सेबीको अनुसन्धान अनुसार, Jane Street ले २०२५ मे महिनाको एक्सपायरी सत्रहरूमा निफ्टी ५० भित्रका धेरै स्टकहरूमा पनि उस्तै तरिका अपनायो। रिलायन्स इन्डस्ट्रीज, इन्फोसिस, TCS, HDFC Life, ITC, Larsen & Toubro, SBI Life, Tata Consumer, Tata Motors, Tata Steel, र अन्य धेरै कम्पनीमा आक्रामक कारोबार गरिएको देखिएको छ।
यसको अतिरिक्त, Adani Enterprises, Apollo Hospitals, Bajaj Finance, Bharti Airtel, Dr. Reddy’s, HUL, NTPC, ONGC, JSW Steel, Maruti Suzuki जस्ता कम्पनीहरू पनि Jane Street को रणनीतिक निशानामा परेका थिए।
सेबीको निष्कर्ष: हेरफेरले साना लगानीकर्तालाई भ्रममा पारेको
सेबीले यो गतिविधिलाई Fraudulent and Unfair Trade Practices अन्तर्गतको गम्भीर उल्लङ्घन मानेको छ। कम्पनीले हजारौं खुद्रा डेरिभेटिभ लगानीकर्तालाई भ्रममा पारी गलत निर्णय गर्न बाध्य बनाएको सेबीको ठहर छ।
कमाइ र घाटाको वास्तविक चित्र
सेबीको रिपोर्ट अनुसार Jane Street Group ले जनवरी २०२३ देखि मार्च २०२५ को अवधिमा कुल ₹३६,५०२ करोड नाफा कमायो। मात्र index options बाट मात्रै यो कम्पनीले ₹४३,२८९ करोड आम्दानी गर्यो। यद्यपि, क्यास बजार, स्टक फ्युचर्स र इन्डेक्स फ्युचर्समा उनीहरूले ₹७,६८७ करोड घाटा व्यहोरेका थिए।
नियामकको आदेश: प्रतिबन्ध र फड जब्ती
सेबीले Jane Street को भारतस्थित सबै कारोबारलाई तुरुन्त प्रभावबाट प्रतिबन्ध लगाएको छ। कम्पनीलाई ₹४,८४३.५ करोड रकम भारतमा फडजब्ती गरी सेबी खातामा जम्मा गर्न निर्देशन दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस