अल्फाविटा ग्रुपले झापाको अर्जुनधारा नगरपालिका–१० स्थित सालवारी क्षेत्रलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्ने लक्ष्यसहित ‘सालवारी हेरिटेज होम्स’ परियोजना औपचारिक रूपमा प्रारम्भ गरेको छ। परियोजनाको उद्घाटन आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा एक विशेष समारोहमार्फत गरिएको हो।
उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रथम महिला राधिका शाक्यको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रम अल्फाविटा ग्रुपका अध्यक्ष द्विराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतका विशिष्ट अतिथिहरूको पनि उपस्थिति थियो।
सालवारी हेरिटेज होम्स परियोजना झापा आन्दोलनको ५० वर्षको स्मृतिमा समर्पित छ। यो स्थल झापा आन्दोलनका सहिदहरूको योगदान, क्रान्तिकारी इतिहास र सामाजिक परिवर्तनको प्रतीक मानिन्छ। यस परियोजनाबाट सालवारीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई पुनः उजागर गर्दै भावी पुस्तालाई त्यसको सन्देश दिन खोजिएको छ।
परियोजनाअन्तर्गत १० कोठे आधुनिक भवन, स्विमिङ पुल, झापा आन्दोलनसम्बन्धी संग्रहालय र प्रदर्शनी क्षेत्र समावेश गरिएको छ। संग्रहालयमा झापा आन्दोलनका घटनाक्रम र सहिदहरूको योगदानलाई दृष्टिगोचर गराउने सामग्री राखिनेछ।
अल्फाविटा ग्रुपले सालवारी हेरिटेज होम्सलाई केवल पर्यटकीय गन्तव्य मात्र नभई सामाजिक र आर्थिक विकासको केन्द्र बनाउने रणनीति अघि सारेको छ। परियोजनाले कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वरोजगारमूलक तालिम र रोजगारी सिर्जना जस्ता क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा दीर्घकालीन प्रभाव पार्ने लक्ष्य राखेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस