रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् ।
रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो । रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ । मन्त्रालयले टेलिग्राममार्फत भनेको छ, ‘रुसको नागरिक उड्डयन प्राधिकरण (रोसाभियात्सिया) द्वारा सञ्चालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष देखेको छ ।’
टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्छ । विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए । यद्यपि, आपतकालीन मन्त्रालयले भने यो संख्या करिब ४० रहेको उल्लेख गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस