Like us!
Follow us!
Connect us!
Watch us!

तरलता तान्नमै व्यस्त राष्ट्र बैंक, कर्जा प्रवाह झनै सुस्त - सुधारको आवश्यकता कहाँ कस्तो ?

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १७ : ०९ मा प्रकाशित

तरलता तान्नमै व्यस्त राष्ट्र बैंक, कर्जा प्रवाह झनै सुस्त - सुधारको आवश्यकता कहाँ कस्तो ?

पछिल्ला केही वर्षहरुमा नेपालका बैंकहरुमा अधिक तरलताको अवस्था रहेको छ । बजारमा कर्जा प्रवाह सुस्त हुँदा बैंकहरुमा अधिक तरलताको अवस्था सिर्जना भइरहेको छ । यसले गर्दा नेपाल राष्ट्र बैंकले अधिक तरलतालाई व्यवस्थापन गर्नका लागि बैंकिङ प्रणालीबाट रकम प्रशोचन गरिरहेको छ ।  आर्थिक संकुचनका कारण बजारमा कर्जाको माग मक हुँदा केन्द्रीय बैंकले बजारबाट साउन महिनामा मात्रै २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ प्रशोचन गरेको छ । राष्ट्र बैंकले बजारबाट २ खर्ब ९५ अर्ब रुपैयाँ प्रशोन गर्ने गरि बोल कबोल गर्दा २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ प्रशोचन गरेको छ । राष्ट्र बैंकले साउन महिनामा हालसम्म ६ पटक बजारबाट रकम उठाउको छ । साउन महिनाको ४ गतेदेखि साउन २१ गतेसम्मको अवधिमा केन्द्रीय बैंकले उक्त रकम प्रशोचन गरेको हो ।  

नेपाल राष्ट्र बैंकले साउन महिनाको साउन ४ गते ४२ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोन गर्ने गरेको छ । जुन रकमको साँवा र ब्याज १५ गते परिपक्व हुने छ । त्यस्तै नेपाल राष्ट्र बैंकले साउन ७ गते ५६ दिनका लागि ८० अर्ब रुपैयाँ प्रशोचन गर्ने गरि सूचना जारी गर्यो । उक्त रकममध्ये ७८ अर्ब २५ करोड रुपैयाँ बैंकिङ प्रणालीबाट उठाएको छ । यो रकमको साँवा र ब्याज असोज १ गते भुक्तानी हुने छ । यसैगरी, साउन ११ गते २८ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने गरि सूचना जारी गरेको केन्द्रीय बैंकले ४२ अर्ब १० करोड रुपैयाँ उठाएको छ । साउन १४ गते फेरि ४२ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने गरि सूचना जारी गरेको दिन जम्मा ७ अर्ब ६५ करोड रुपैयाँ मात्रै बजारबाट उठाएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै साउन १८ गते ४२ दिनका लागि ५० खर्ब रुपैयाँ खिच्ने गरि सूचना जारी भएको थियो र उत्ति नै रकम बजारबाट उठेको थियो । पछिल्लोपटक साउन २१ गते ३५ दिनका लागि केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भन्दै सूचना जारी गरेको थियो । तर उक्त दिन बजारबाट १५ अर्ब ५० करोड रुपैयाँका लागि मात्रै आवेदन परेकाले केन्द्रीय बैंकले उक्त रकम प्रशोचन गरेको थियो । अधिक तरलता नियन्त्रण गर्नको लागि राष्ट्र बैंकले बिक्री गर्नै यस्तो मौद्रिक उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले न्यूनतम ब्याज प्राप्त हुने गरी खरिद गर्दै आएका छन् । खरिदको लागि घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको हुन्छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सक्ने व्यवस्था छ ।

केन्द्रीय बैंकले बजारबाट तरलता प्रशोचन गर्ने भन्दा पनि कर्जाको माग बढ्ने किसिमले काम गर्नु पर्ने देखिन्छ । बजारमा अहिले कर्जाको माग कम भएकाले त्यसलाई बढाउनका लागि लाग्नु पर्ने आवश्यकता रहेको छ । अर्थविद्हरुले भने बजारमा तरलता बढ्नुको कारण खोज्नु पर्ने र उपभोक्ता हातमा पैसा पुग्ने वातावरण निर्माण गर्ने तर्फ लाग्नु पर्ने बताएका छन् । त्यस्तै बैंकबाट कर्जा लिदाको प्रक्रिया सहज बनाउनु पर्ने उनीहरुको भनाइ छ । 
अहिले जुन रुपमा राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहेको छ त्यसलाई कम गर्नका लागि राष्ट्र बैंकको नीतिले मात्रै भन्दा पनि समग्र देशको उत्पादन मूलक क्षेत्रमा कर्जा बढाउनका लागि सरकारको आर्थिक र वित्त नीतिबाटै समाधान खोज्नु पर्ने अर्थविद् डा. चन्द्रमणी अधिकारी बताउँछन् । कर्जा बढाउनका लागि सरकारी प्रक्रिया र शुसासन कायम गर्नु पर्ने उनको भनाइ छ ।  बैंक बाट प्रवाह हुने कर्जा पाउनका लागि सहज प्रक्रिया अबलम्बन गर्नु पर्ने आवश्यकता रहेको अधिकारीले बताए । ‘अहिले पनि आम मानिसहरुलाई बैंकहरुबाट ऋण लिनका लागि निकै झन्झटिलो प्रक्रिया रहेको छ । यसमा सुधार गर्न आवश्यक छ,’ उनले भने । 

करोड रुपैयाँ लिने र लाखौँ रुपैयाँ लिनेहरुका लागि एउटै किसिमको व्यवस्था रहेको छ । यसमा पनि सरलिकृत गर्नु पर्ने आवश्यकता रहेको अधिकारी बताउँछन् । कृषि र उत्पादन मूलक क्षेत्रका लागि लिने कर्जा र हाइप्रचेच कर्जा लिदाँको कार्यविधि फरक बनाउनु पर्ने उनी बताउँछन् ।

सहकारी खस्कीएको र लघुवित्तमा पनि समस्या आउँदा साना कर्जा लिनेहरुले कर्जा लिनै नसकेको अवस्था छ । यसमा सुधार गर्नका लागि राष्ट्र बैंकले यो व्यवस्थालाई सरल बनाउनु पर्ने अधिकारीको भनाइ छ । त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा बैंकिङ विज्ञ अनलराज भट्टराइले तरलता बढ्नुको कारण खोजेर समाधानका लागि काम गर्नु पर्ने बताए । केन्द्रीय बैंकले कर्जा दिदा जुन सिमा तोकेकाले केही लचिलो बनाउनु पर्ने उनको भनाइ छ । चालु आर्थिक वर्षमा राज्यले करिब १२ प्रतिशत कर्जा बढाउने भनेको अवस्थामा नीतिगत लचकताको आवश्यकता रहेको भट्टराइले बताए । ‘यो वर्ष सरकारले करिब १२ प्रतिशत कर्जा बढाउने भनेको छ । यो भनेको करिब ६ खर्ब कर्जा जानु पर्ने हुन्छ । यसका लागि लचिलो नीति आवश्इक छ,’ उनले भने । 

राष्ट्र बैंकको कडा नीतिका कारणले नै अहिले कर्जा प्रवाह कम भएकाले त्यस तर्फ लचिलो नीति आवश्यक रहेको भट्टराइले बताए । केन्द्रीय बैंकको नीति नै कडा गरेर कर्जा प्रशोचन गरिरहेको उनको भनाइ छ । सेयर बजारका लागि लगिने कर्जा, घर जग्गामा व्यक्तिगत रुपमा जाने कर्जालाई पनि सहज बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए ।  अन्यदेशहरुमा उपभोग्य कर्जा निकै बढी हुने भए पनि नेपालमा निकै कम रहेको तथा तत्कालै उत्पादन भइहाल्ने अवस्था पनि नरहेकाले उपभोक्ता कर्जा तर्फ पनि सोच्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । आम सर्वसाधारणको हातमा कर्जा पुर्याउनका लागि सहज वातावरण बनाउन सकियो भने त्यसले उपभोगको लागि माग सिर्जना हुने र त्यसले कर्जा प्रवाह बढ्ने उनी बताउँछन् । उनले केन्द्रीय बैंकले खुकुलो नीति बनाएर सुपरीवेक्षण गर्नु पर्ने आवश्यकता रहेको भट्टराइको भनाइ छ ।  

तरलता व्यवस्था गर्न कुरा एउटा भए पनि त्यसको कारण पत्ता लगाउन आवश्यक रहेको उनको भनाइ छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जाको दर पनि बढ्को र कर्जा लिएकाहरु कालोसूचीमा पर्ने क्रम पनि बढेको र यसले बैंकको पुँजीमा दबाब परेरकाले पनि बैंकमा रकम थुप्रिएकाले पनि समस्या आएको उनी बताउँछन् । बजारमा पैसा आउनु समस्या नभए पनि बजारले किन खपत गरेन भन्ने कुरा सोचनीए भएकार राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितको भनाइ छ । ‘बजारले खपत गर्ने भनेको बजारमा माग बढ्नु पर्यो  । उत्पादन हुने भए उत्पादन हुनु पर्यो । आयात गर्ने भए आयात हुनु पर्यो  र त्यो बिक्री पनि हुनु पर्ने हुन्छ,’ उनले भने । यसरी बजारमा नै तरलता व्यवस्थापन हुनु पर्ने भए पनि त्यस्तो हुन नसक्दा त्यसको चाप ब्याजदरमा पर्ने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि केन्द्रीय बैंकले बजारबाट तरलता प्रशोचन गर्ने गरेको पण्डित बताउँछन् । ‘ब्याजदर बढ्दा कर्जाको माग अझ कम हुन्छ । यसले अर्थतन्त्रमा अर्को नकारात्मक असर गर्ने भएकाले ब्याजदरलाई राष्ट्र बैंकले निश्चित सिमामा राख्नु पर्ने हुन्छ,’ उनले भने, ‘यसका लागि कहिले बजारबाट रकम प्रशोचन गर्नु पर्ने हुन्छ भने कहिले प्रवाह गर्नु पर्ने हुन्छ ।’ अहिलेको अवस्थामा ब्याजदर न्यून रहेको र तरलता अधिक भएकाले प्रशोचन गर्नु पर्ने अवस्थामा रहको प्रवक्ता पण्डितको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको