नेपाल टेलिकमको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५७.२१ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २ करोड ७८ लाख २३ हजारले कम हो।
यसले टेलिकमको सञ्चालन आयमा ०.०८ प्रतिशतले मात्र गिरावट आएको देखाउँछ।
यद्यपि सञ्चालन आयमा सामान्य कमी देखिए पनि नाफामा भने ठूलो गिरावट आएको छ। टेलिकमको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार रुपैयाँले घटेको हो। नाफा घट्नुको मुख्य कारण जीएसएम अनुमति पत्र नवीकरणका लागि टेलिकमले एकमुष्ठ रूपमा २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपरेको बताइएको छ। यस भुक्तानीका कारण बैंकमा राखिएको रकमबाट प्राप्त हुने ब्याज गुमेको र त्यसले नाफामा नकारात्मक असर पारेको कम्पनीले जनाएको छ।
साथै, कर्मचारीको निवृत्तिभरणको व्यवस्थाका लागि अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९७ करोड रुपैयाँ छुट्याइएको थियो भने चालु वर्षमा यो रकम बढेर १३ अर्ब १५ करोड पुगेको छ। यसले टेलिकमको लगानीमा गिरावट ल्याउनुका साथै क्रमिक रूपमा ब्याजदर घटेकाले पनि ब्याज आयमा कमी आएको छ। कम्पनीका अनुसार, ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३ अर्ब ७ करोड ११ लाख ४२ हजार रुपैयाँले घटेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस