नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि नयाँ र सुविधायुक्त ‘सब्स्क्रिप्सन बेस्ड मोडेल’ (Subscription-Based Model) अन्तर्गतका विभिन्न प्याकेजहरू सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले अब हरेक महिना प्याकेज सक्रिय गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। टेलिकमका अनुसार यो सेवा एकपटक सक्रिय गरिसकेपछि ग्राहकको मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ। कम्पनीले ग्राहकको सहजताका लागि ३० दिन समयावधि रहने तीन प्रकारका आकर्षक प्याकेजहरू उपलब्ध गराएको छ:
१. नमस्ते रिकरिङ २९९ प्याक:
यस प्याकेजका लागि ग्राहकले २९९ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यसमा ३०० मिनेट सबै नेटवर्कमा कल गर्न सकिने (All-Net Voice), जुनसुकै समयमा प्रयोग गर्न मिल्ने ४ जीबी डाटा, राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने २ जीबी नाइट डाटा र कम्पनीको नेटवर्कभित्र पठाउन सकिने २० वटा एसएमएस (On-Net SMS) प्राप्त हुनेछ।
२. नमस्ते रिकरिङ ४९९ प्याक:
४९९ रुपैयाँमा उपलब्ध हुने यस प्याकमा ५०० मिनेट अल-नेट भ्वाइस कल, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने ८ जीबी डाटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने ४ जीबी नाइट डाटा उपलब्ध हुनेछ। साथै, सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा अल-नेट एसएमएस पनि यसमा समावेश गरिएको छ।
३. नमस्ते रिकरिङ ७९९ प्याक:
सबैभन्दा ठूलो प्याकेजका रूपमा रहेको ७९९ रुपैयाँको यस प्याकमा सबै नेटवर्कमा असीमित (Unlimited) भ्वाइस कल गर्न सकिनेछ। यसमा प्रतिदिन १० जीबीका दरले मासिक कुल ३०० जीबी डाटा र ३०० वटा अल-नेट एसएमएस उपलब्ध गराइएको छ।
थप सुविधा (एड-अन प्याकेज):
सब्स्क्रिप्सनमा आधारित यी प्याकेज लिने ग्राहकहरूलाई आवश्यकताअनुसार ‘एड-अन’ (Add-on) प्याकेजको सुविधा पनि दिइएको छ। जसअन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी र ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डाटा थप खरिद गर्न सकिनेछ।
कसरी लिने सेवा ?
सेवाग्राहीले आफ्नो मोबाइलबाट *१४१५# ( *1415# ) डायल गरी प्राप्त निर्देशनअनुसार यो प्याकेज खरिद गर्न र सेवा सक्रिय गर्न सक्नेछन्। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले यो सेवाबाट ग्राहकहरूले समय-समयमा प्याकेज लिइरहनुपर्ने झन्झटबाट राहत पाउने र सेवाको निरन्तरता सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस