ब्रिटिश राजकुमार प्रिन्स ह्यारी र उनकी पत्नी मेघन मार्कलले दिवंगत प्रिन्सेस डायनाबारे डकुमेन्ट्री बनाउन नेटफ्लिक्ससँग छलफल अघि बढाइरहेका छन्। सन् २०२७ मा उनकी निधनको ३० वर्ष पूरा हुने क्रममा यो परियोजना सार्वजनिक गर्न सकिने बताइएको छ।
‘द सन’ का अनुसार ड्यूक र डचेस अफ ससेक्सले नेटफ्लिक्ससँग विभिन्न कार्यक्रमका प्रस्ताव प्रस्तुत गरेका छन्। तीमध्ये प्रिन्सेस डायनाको जीवन र उनको योगदानमा आधारित कार्यक्रमलाई गम्भीरतापूर्वक विचार भइरहेको छ। स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, “यदि ह्यारी यो परियोजनामा अघि बढ्न चाहन्छन् भने नेटफ्लिक्स तुरुन्तै तयार हुनेछ।”
यो प्रोजेक्ट ह्यारी–मेघनको कम्पनी Archewell Productions मार्फत निर्माण हुने सम्भावना छ, जसमा नेटफ्लिक्सले वित्तीय सहयोग गर्नेछ।
प्रिन्स ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्ट ३१ मा पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो। त्यतिबेला उनका छोरा प्रिन्स विलियम १५ र प्रिन्स ह्यारी १२ वर्षका थिए। डायनाको निधनले विश्वलाई स्तब्ध बनाएको थियो।
मानवतावादी कार्य, जनतासँगको नजिक सम्बन्ध र बेलायती शाही परिवारसँगको चिसो सम्बन्धका कारण उनी सधैं चर्चामा रहिन्। ह्यारीले विभिन्न अन्तरवार्तामा आमाको मृत्युले आफूलाई मानसिक रुपमा गहिरो असर पारेको खुलासा गरिसकेका छन्।
डायनाबारे सम्भावित डकुमेन्ट्रीसँगै ह्यारी–मेघनले नेटफ्लिक्ससँगको सहकार्य जारी राखेका छन्। मेघनको जीवनशैली कार्यक्रम ‘With Love, Meghan’ को दोस्रो सिजन भदौ १० (अगस्ट २६) बाट प्रसारण हुँदैछ भने डिसेम्बरमा विशेष एपिसोड आउनेछ।
यस्तै उनीहरू युगाण्डाका अनाथ बालबालिकामाथि आधारित छोटो डकुमेन्ट्री ‘Masaka Kids: A Rhythm Within’ मा पनि संलग्न छन्, जसमा नृत्य र संघर्षबीचको सहनशीलताको कथा देखाइनेछ।
सन् २०२० मा शाही परिवारको वरिष्ठ भूमिकाबाट अलग भएयता, ह्यारी र मेघनले व्यक्तिगत कथा, मानसिक स्वास्थ्य र सामाजिक विषयलाई केन्द्रमा राखेर आफ्ना परियोजना अघि बढाइरहेका छन्।
नेटफ्लिक्सले भने डायनासम्बन्धी परियोजनाबारे आधिकारिक पुष्टि गर्न बाँकी रहेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस