नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किङ्सले आगामी शनिबार भदौ २१ गते विराटनगरको जैन भवनमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कोशी प्रदेशको राजधानीमा हुने यस कार्यक्रममा चर्चित गायक नितेश जंग कुँवरले मुख्य प्रस्तुति दिनेछन्।
कार्यक्रममा कुँवरको प्रस्तुतिसँगै स्थानीय कलाकार शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आफ्नो प्रस्तुति दिनेछन्। साँझ ४:३० बजे सुरु हुने कन्सर्टले संगीतप्रेमीलाई विशेष अनुभव दिलाउने आयोजकले बताएका छन्।
कन्सर्टमा प्रवेशका लागि टिकट मूल्य प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ। तर, विराटनगर किङ्सको जर्सी लगाएर आउने दर्शकलाई टिमप्रतिको सम्मानस्वरूप निःशुल्क प्रवेश दिइनेछ। यस मार्फत टिमले “कोशीको गौरव, हाम्रो पहिचान” भन्ने मूल मन्त्रलाई अझ प्रबल बनाउने लक्ष्य राखेको छ।
विराटनगर किङ्सका मालिकहरूमध्ये एक वेङ्कटेश मुन्द्राले कार्यक्रममा बोल्दै भने, “हामीले क्रिकेटमार्फत समर्थकलाई एकताबद्ध गर्दै आएका छौँ। अब संगीत र संस्कृतिमार्फत पनि समर्थकसँग नजिक हुन चाहन्छौं। यो कार्यक्रम एनपीएलअघि कोशी प्रदेशमा उत्साह जगाउन र समर्थकलाई आभार प्रकट गर्न आयोजना गरिएको हो।”
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यस वर्षको नेपाल प्रिमियर लिगमा आठ टिम सहभागी हुनेछन्। प्रतियोगिता मङ्सिरदेखि सुरु हुने तय भइसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस