अर्थ संसार, काठमाडौँ– राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ ।
प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसक्नुभएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ ।
छवटा प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार, प्रदेश नं १ को विराटनगरस्थित वीरेन्द्रसभा गृहमा, प्रदेश नं ३ को ललितपुर महानगरपालिका–४ को कार्यालयमा र प्रदेश नम्बर ४ को कास्की जिल्लाको पोखरास्थित लोकसेवा आयोगको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भवन केन्द्रमा मतदान शुरु भएको छ ।
प्रदेश नम्बर ५ को दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेत जिल्लाको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण मावि भवन केन्द्रमा मतदान शुरु भएको छ ।
निर्वाचन आयोगका उपसचिव महेशराज तिम्सिनाका अनुसार प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् ।
महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुने छ भने दलित एक, अपांग भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छन् ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहनुभएको छ ।
प्रदेश नम्बर २ का आठ वटै सदस्य निर्विरोध निर्वाचित हुनुभएकाले अब बाँकी छ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी कूल एक हजार ६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । निर्वाचन आयोगका उपसचिव तिम्सिनाले मतदान कार्य आज दिउँसो ३ बजेसम्म हुने जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस