अर्थ संसार, धनगढी– ७ नं प्रदेशमा आज राष्ट्रियसभाका सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का चक्रप्रशाद स्नेही र नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत जयानन्द पनेरुले दलित समूहका तर्फबाट विजयी एमालेका स्नेहीले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत प्राप्त गरी विजयी हुनु भएको जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेरीराम पार्कीले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ १२ मत पाउनु भएको थियो ।
यस्तै अल्पसंख्यक तथा अपाङ्गतर्फ माओवादी केन्द्रका महरा विजयी हुनु भएको छ । उहाँले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत पाउनु भएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका छत्रराज जोशीले स्थानीयतर्फ ७४ र प्रदेश सभा तर्फका १२ मत पाउनु भयो ।
निर्वाचनमा स्थानीयतर्फको एक मत बदर भएको निर्वाचन अधिकृत पनेरुले बताउनुभयो ।
७ नं प्रदेशको कुल मतदाता २२९ मध्ये २२७ मतदाताले मतदान गरेका थिए । स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष\उपाध्यक्ष र प्रदेशसभाका सांसद राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता हुने व्यवस्था छ ।
प्रत्येक प्रदेशबाट राष्ट्रिय सभाका आठ सांसद हुनुपर्नेमा ७ नं प्रदेशवाट खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी र महिला सदस्यमा एमालेकी इन्दु कडरिया तथा कमलाकुमार ओली, काँग्रेसकी तारादेवी भट्ट यसअघि निर्विरोध निर्वाचित भइसक्नु भएको छ । डोटीको सिलगढीमा निर्वाचन भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस