नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा हाल क्रिकेट संघ अफ नेपाल (CAN) का सचिव पारस खड्काले देशमा शान्ति, स्थिरता र एकताको आवश्यकता औंल्याउँदै सबैलाई संयमित बन्न आह्वान गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अराजकता, हिंसा र निर्लज्जताले समाज र देशलाई नबनाउने उल्लेख गरेका छन्। “देश नै बाँकी रहेन भने, जो जसले जुन ठाउँमा जे पद वा जिम्मेवारी पाए पनि, हामीलाई ढलेको संरचना उठाउन गाह्रो हुनेछ,” खड्काले भने।
शान्ति र संयमको प्रतीकका रूपमा चिनिने नेपालीहरूको वर्तमान परिस्थितिले गलत पहिचानतर्फ धकेल्ने खतरा रहेको भन्दै उनले नयाँ तथा पुराना पुस्ताको नेतृत्वले सुधारिएको व्यवस्थापन र जिम्मेवारीसहित परिवर्तनको बाटो सम्हाल्नुपर्ने आवश्यकता जोड दिए।
“देशमा अमूल परिवर्तनको उद्देश्यका साथ हिँड्नु भएका नयाँ र पुराना नेतृत्व सबैलाई अनुरोध गर्दछु — सबै जना एउटै ठाउँमा आएर अहिलेको परिस्थितिलाई सम्हाली ठूलो क्षति हुन नदिई, शान्ति र स्थिरता कायम गर्न सहयोग गरौँ,” खड्काले लेखेका छन्।
उनले अन्त्यमा सबैलाई एकताबद्ध र संयमित बन्न आग्रह गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस