असोज २ गते खुलेको सेयर बजार फेरि निराशाजनक ढंगले बन्द भयो। भदौ २३ गतेको आन्दोलनपछि बन्द भएको बजार लगानीकर्ताको निरन्तर माग र नयाँ सरकार गठनसँगै खुलेको थियो। तर खुल्नेबित्तिकै दुई मिनेटमै नकारात्मक सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकियो। त्यसपछि खुलेको बजार फेरि ४० मिनेटका लागि बन्द भयो। अन्ततः तेस्रो पटक सर्किट लागेपछि बजार दिनभरका लागि पूरै स्थगित रह्यो।
नेप्से परिसूचक यस दिन ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा आइपुग्यो। तर यसरी परिसूचक भारी मात्रामा खस्किँदा कुल कारोबार रकम करिब ७२ करोड ८७ लाख रुपैयाँ मात्र देखिनु निकै अस्वाभाविक मानिन्छ। सामान्यतया यस्तो स्तरको गिरावट आउँदा ठूलो मात्रामा कारोबार देखिन्छ, तर यस दिनको कारोबार अत्यन्त न्यून थियो।
अझै प्रश्न उठाउने कुरा के भने, आन्दोलनले प्रत्यक्ष असर नगरेका क्षेत्रहरू समेत भारी गिरावटमा देखिए। कृषि, उत्पादन, जलविद्युत, लगानी, तथा अन्यजस्ता क्षेत्रमा आन्दोलनको कुनै सीधा प्रभाव नपरे पनि ती क्षेत्रका सूचकहरू समेत ओरालो लागे। बैंकिङ क्षेत्र पनि सानो मात्रामा प्रभावित भए तापनि समग्रमा यति ठूलो असर पर्ने खालको अवस्था थिएन। तर बजारमा यी सबै क्षेत्रलाई समेत तल धकेलिएको देखिनु बजारमा नियोजित दबाब सिर्जना गरिएको स्पष्ट सङ्केत हो।
राजनीतिक रूपमा देश स्थिरतातर्फ अघि बढिरहेको बेला यस्तो अप्राकृतिक घटाईले अझै शंका थपेको देखिन्छ। अन्तरिम सरकार बनेको छ, नयाँ अर्थमन्त्री रामेश्वर खनालजस्ता सेयर बजारप्रति सहानुभूतिपूर्ण व्यक्तित्व आर्थिक नेतृत्वमा आएका छन्। लगानीकर्ताले आत्मविश्वास बढाउनु पर्ने अवस्थामा बजार उल्टै दिनभरको लागि ठप्प हुनु वास्तविक कारणभन्दा बढी नियोजित खेलतर्फ इङ्गित गर्छ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको कारोबार रकम न्यून रहे पनि परिसूचकमा देखिएको ठूलो गिरावट हो। यसरी बजारलाई बारम्बार सर्किटमा फसाउने रणनीति प्रयोग गरेर लगानीकर्तामाझ त्रास फैलाइयो र सस्तो मूल्यमा सेयर संकलन गर्ने वातावरण बनाइयो भन्ने बुझाइ बलियो बन्छ।
यसैले अहिले देखिएको गिरावटलाई दीर्घकालीन संकटको रूपमा व्याख्या गर्नु भन्दा पनि केही समूहले सेयर बजारलाई नियोजित रूपमा नियन्त्रण गर्ने प्रयास गरेको घटना हो कि भन्ने प्रश्न गर्ने ठाँउ प्रस्तत छन्। नियामक निकाय र सरकार यसप्रति सजग भएर बजारलाई पारदर्शी र सुरक्षित बनाउन थप सक्रिय हुन आवश्यक देखिन्छ।
लगानीकर्ताका लागि सन्देश भनेको, यस्तो कृत्रिम उतारचढावले आत्तिनु भन्दा दीर्घकालीन आधारभूत पक्षहरूमा भर पर्नु देखिन्छ । यसरी तल धकेलिएको बजार भविष्यमा स्थिरतासँगै पुनः उक्लने सम्भावना बढी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस