अर्थ संसार, काठमाडौँ– ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् ।अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका हुन् ।
ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन ।
अग्रज समाज नेपालको अगुवाइमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने समेत माग गर्दै आएका छन् ।
अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुलीले आफ्ना मागबारे पटकपटक सरकारलाई सुनाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गर्नुभयो । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गर्नुभएको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ ।
पछिल्लो पटक ज्येष्ठ नागरिक ९(दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी) र एकल महिलाले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको संख्या (६० वर्ष पुगेका) २५ लाखअर्थात कूल जनसंख्याको ८.१३ प्रतिशत छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस