अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन का प्रमुख जेमी डाइमोन ले अमेरिकी सेयर बजारमा नजिकिँदै गरेको गम्भीर गिरावटबारे चेतावनी दिएका छन्। उनले भनेका छन्— “म अरूभन्दा धेरै चिन्तित छु, बजारमा अहिले देखिएकोभन्दा धेरै ठूलो गिरावट आउन सक्छ, जसको सम्भावना आगामी छ महिनादेखि दुई वर्षभित्र रहन्छ।”
बीबीसीसँगको दुर्लभ र विस्तृत अन्तर्वार्तामा डाइमोनले अमेरिकी अर्थतन्त्रदेखि लिएर विश्व राजनीतिक अस्थिरता, मुद्रास्फीति, र केन्द्रीय बैंकको स्वतन्त्रता सम्बन्धी विषयमा आफ्नो धारणा राखेका छन्।
बोर्नमाउथस्थित जेपी मोर्गनको नयाँ क्याम्पस उद्घाटन समारोहमा सहभागी भइरहेका डाइमोनले अमेरिकी सेयर बजार अहिले अत्यधिक तातिएको बताए। उनले भने, “मलाई लाग्छ बजार अहिले असामान्य रूपमा बढेको छ। विश्वमा यति धेरै अनिश्चितता भएका बेला मानिसहरू धेरै आशावादी छन्।”
उनका अनुसार भू–राजनीतिक तनाव, अत्यधिक सरकारी खर्च, र विश्वव्यापी पुनः सशस्त्रीकरणजस्ता कारणहरूले बजारमा अनिश्चितता थपिरहेका छन्।
डाइमोनका शब्दमा, “यी सबै कुराहरूले यस्तो वातावरण बनाएका छन्, जहाँ हामीले अझै समाधान नपाएका धेरै चुनौतीहरू छन्। त्यसैले अहिले सामान्यभन्दा धेरै सतर्कता आवश्यक छ।”
हाल अमेरिकी बजारमा देखिएको तीव्र वृद्धि मुख्यतया कृत्रिम बौद्धिकता (AI) मा भएको लगानीले तानिएको हो। तर बैंक अफ इङ्ल्यान्डले समेत हालै चेतावनी दिएको छ कि एआई सम्बन्धी कम्पनीहरूको मूल्य “असामान्य रूपमा बढेको” छ र यसले “तीव्र सुधार” (sharp correction) ल्याउन सक्छ।
डाइमोनले भने, “एआई वास्तविक प्रविधि हो र दीर्घकालमा फाइदा दिनेछ। तर सबै कम्पनी सफल हुने होइनन् — जसरी गाडी र टिभी उद्योगमा धेरैले पैसा गुमाए, एआईमा पनि धेरै लगानी हराउनेछन्।”
डाइमोनले विश्व सुरक्षा अब पहिलेभन्दा धेरै अस्थिर भएको बताए। उनले यसअघि आफ्ना सेयरधनीहरूलाई पठाएको पत्रमा पनि चेतावनी दिएका थिए कि यदि दक्षिण चीन सागरमा युद्ध भयो भने अमेरिका सात दिनमै क्षेप्यास्त्र सकिने अवस्थामा पुग्छ।
उनले भने, “मानिसहरू क्रिप्टो जस्ता वस्तु जम्मा गर्छन्, तर म भन्छु, हामीले गोलाबारुद, बन्दुक र बम जम्मा गर्नुपर्छ। संसार अहिले धेरै खतरनाक बनेको छ, सुरक्षित रहनु नै बुद्धिमानी हो।”
फेडरल रिजर्भ (अमेरिकी केन्द्रीय बैंक) को स्वतन्त्रतामाथि पनि उनले टिप्पणी गरे। ट्रम्प प्रशासनले फेडका अध्यक्ष जेरोम पावेलमाथि बारम्बार आक्रमण गरे पनि उनले भने, “म ट्रम्पलाई उनको शब्दमा नै लिन चाहन्छु कि उनी फेडमा हस्तक्षेप गर्ने छैनन्।”
तर उनले स्वीकार गरे कि अमेरिका केही हदसम्म “कम भरपर्दो” भागीदार बनिसकेको छ। त्यसो भए पनि उनले भने, ट्रम्पका केही कदमहरूले युरोपलाई नाटो र आर्थिक प्रतिस्पर्धात्मकता विषयमा पुनर्विचार गर्न प्रेरित गरेको छ।
डाइमोनले भारत र अमेरिकाबीच व्यापार सम्झौता नजिकिँदै गरेको खुलासा पनि गरे। उनका अनुसार, भारतले रुससँगको व्यापार (विशेष गरी तेल खरिद) का कारण थपिएको भन्सार शुल्क हटाउने विषयमा अब प्रगति भइरहेको छ।
उनले भने, “म ट्रम्प प्रशासनका केही अधिकारीहरूसँग बोलिसकेको छु, र उनीहरूले पनि यो शुल्क हटाउने योजना बनाइरहेका छन्।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस