मिति २०८२ असोज २६ गते अर्थसंसार डटकममा “सेयर बजार नकरात्मक सर्किट लागेर बन्द हुन्छ – तिलक कोइराला” शीर्षकमा समाचार प्रकाशित भएको थियो। उक्त समाचार पुँजी बजारका लगानीकर्ता श्री तिलक कोइरालासँग गरिएको छोटो संवाद र विश्लेषणात्मक टिप्पणीमा आधारित थियो, जसको उद्देश्य बजारको अवस्थाबारे लगानीकर्ताको व्यक्तिगत दृष्टिकोण प्रस्तुत गर्नु मात्र थियो। तर समाचारको शीर्षकले केही पाठकमा भ्रम सिर्जना गर्न सक्ने सम्भावना रहेकाले, सोही दिनभित्रै समाचारको शीर्षक सच्याइ पुनः प्रकाशन गरिएको थियो।
श्री तिलक कोइरालाले पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै स्पष्ट गर्नुभएको छ कि सो दिनको संवाद सेयर बजार तीब्र गिरावटमा रहँदा भएको हो। संवाददाताको फोन सोधपुछको क्रममा आफूले संक्षिप्त प्रतिक्रिया दिएको र त्यसपछि समाचारको शीर्षक र प्रस्तुतीकरणप्रति आपत्ति जनाई तुरुन्तै सच्याउन आग्रह गरेको कुरा उहाँले उल्लेख गर्नुभएको छ। साथै असावधानीवश प्रकाशित सामग्री तुरुन्तै सच्याइएको र यस विषयलाई विवादको रूपमा लिइरहन आवश्यक नभएको समेत उहाँले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्नुभएको छ।
अर्थसंसार डटकमका तर्फबाट हामी स्पष्ट पार्न चाहन्छौं कि उक्त समाचारमा कुनै पनि भ्रामक तथ्य वा मनगढन्ते विवरण समावेश गरिएको थिएन। समाचारको शीर्षकमा शब्द चयनका कारण अवांछित भ्रम सिर्जना हुनसक्ने सम्भावना रहेकाले तुरुन्तै सुधार गरिएको हो। प्रकाशित सामग्रीले न कसैलाई अनुचित लाभ वा हानि पुर्याउने नियत राखेको थियो, न बजार प्रभावित पार्ने उद्देश्य राखेको थियो।
हामी पत्रकार आचारसंहिता, २०७३ का सिद्धान्तप्रति दृढ प्रतिबद्ध छौं र भविष्यमा समाचार शीर्षक, प्रसङ्ग र बजार संवेदनशीलतासम्बन्धी विषयहरूमा अझ बढी सावधानी अपनाउने प्रतिवद्धता व्यक्त गर्दछौं।
मिलन खड्का
सम्पादक
अर्थसंसार
इमेल : [email protected]
वेबसाइट : www.arthasansar.com
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस